नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार पौने ४ अर्ब नाघ्यो

-



     सफल आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ साउन । नेपाली धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १२ दशमलव ९६ अङ्कले उकालो लाग्दै दुई हजार ६८५ दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा अन्य प्रमुख सूचकहरूमा पनि सुधार देखिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ विन्दुमा कायम भएको छ । त्यस्तै, फ्लोट सूचक १ अङ्कले बढेर १८४ दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ विन्दुमा पुगेका छन् ।

नेप्सेका अनुसार आज कारोबार रकममा पनि राम्रो उपस्थिति रहेको छ । दिनभर भएका कारोबारमा विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० बराबरमा खरिद-बिक्री भएका छन् ।

अधिकांश उपसमूह हरियाली

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेका छन् भने बाँकी २ उपसमूहको सूचकमा मात्र गिरावट आएको छ । कुल २४५ भन्दा बढी कम्पनीको सेयर कारोबार भएकोमा १८० कम्पनीको सेयर मूल्य बढेको छ, ८२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कमाउने र गुमाउने कम्पनीहरू

आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । अर्कोतर्फ, बोटलर्स नेपाल (तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले भने गुमाएका छन् ।