तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप सङ्कलन गर्ने

-



     सफल आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ साउन । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले रु २५ अर्ब बराबरको दुईमहिने निक्षेप सङ्कलन गर्ने भएको छ ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३:०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने साँवा तथा ब्याज आगामी २०८३ असोज १४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

सूचनाअनुसार न्यूनतम रु १० करोड र अधिकतम रु ५ करोडका गुणाङ्कमा कुल आह्वान रकमसम्म बोल पेस गर्न सकिनेछ । बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र आफूले चाहेको ब्याजदर खुलाउनुपर्नेछ ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर निक्षेप स्वीकृत गरिनेछ । समान ब्याजदर भएका प्रस्तावको कुल रकम आह्वान गरिएकोभन्दा बढी भएमा ‘प्रो-राटा’ (अनुपातिक) आधारमा बाँडफाँट गरिनेछ । आह्वान गरिएको रकम पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा निहित रहनेछ ।

यसरी सङ्कलन गरिएको निक्षेपलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन् । तर, प्रचलित व्यवस्थाबमोजिम वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा भने गणना गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।