राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकलाई कारबाही, शेरचनलाई जरिवाना

-



     सफल आवाज    
     श्रावण १७ गते २०८३ मा प्रकाशित



काठमाडौं, १७ साउन। नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा वित्तीय निर्देशन उल्लंघन गर्ने तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ।

केन्द्रीय बैंकले सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रको प्रभु बैंक तथा उनका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको हो।

प्रभु बैंक र तत्कालीन सीईओलाई ५ लाख जरिवाना

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले केन्द्रीय बैंकको निर्देशन बारम्बार बेवास्ता गरेको, जोखिम अनुसार कर्जा वर्गीकरण नगरेको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था (प्रभिजनिङ) नगरेको पाइएको छ।

विशेष गरी, प्रभु बैंकले राष्ट्र बैंकमा पेस गरेको कर्जा विवरण र बैंककै आन्तरिक बैंकिङ सिस्टम (Core Banking System) को विवरण फरक-फरक भेटिएपछि गम्भीर लापरवाही ठहर गर्दै कारबाही गरिएको हो। राष्ट्र बैंकले तत्कालीन सीईओ अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम रु. ५ लाख नगद जरिवाना गराएको छ।

साथै, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन (On-site Inspection Report) मा देखिएका गम्भीर कमजोरीहरू समयमै सुधार नगरेको भन्दै प्रभु बैंक सञ्चालक समितिलाई आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने सर्तमा ‘कबुलियतनामा’ गराइएको छ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई ‘सचेत’

त्यसैगरी, केन्द्रीय बैंकको नियम पालना नगरेको भन्दै सरकारी स्वामित्वका दुई वाणिज्य बैंकहरूलाई पनि कारबाही स्वरूप सचेत गराइएको छ:

  • राष्ट्रिय वाणिज्य बैंक: खाता रोक्का तथा फुकुवा सम्बन्धी राष्ट्र बैंकको निर्देशन र बैंककै आफ्नै विनियमावली पालना नगरेको पाइएकाले सचेत गराइएको हो।
  • कृषि विकास बैंक: सम्बन्धित नियामक वा सरकारी निकायको आधिकारिक अनुरोध अनुसार समयमै खाता रोक्का नगरेको र निर्देशनको उल्लंघन गरेको पाइएको छ।

दुवै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम औपचारिक रूपमा सचेत गराइएको बैंक सुपरिवेक्षण विभागले जनाएको छ।