आईसिएफसि फाइनान्सको नाफा २०.६७ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १४ करोड नाघ्यो

-



     सफल आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित



काठमाडौंं, १८ साउन । आईसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानीमा सुधार आए पनि खुद नाफामा भने गिरावट आएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेकोमा गत वर्ष नाफा २०.६७ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। वित्तीय विवरण अनुसार २ करोड ३२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज कायम भएसँगै फाइनान्सको सञ्चालन नाफा ४७ करोड ४७ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा सीमित भएको हो।

नाफामा गिरावट आए पनि नियमनकारी समायोजन तथा साविकको जगेडा समायोजन पश्चात् फाइनान्सको वितरणयोग्य नाफा भने मजबुत अवस्थामा देखिएको छ। असार मसान्तसम्ममा फाइनान्सको कुल वितरणयोग्य नाफा १४ करोड १७ लाख रुपैयाँ पुगेको छ। १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ, जसले आगामी दिनमा शेयरधनीहरूलाई आकर्षक लाभांश दिन सक्ने क्षमता दर्साउँछ।

निक्षेप र कर्जा विस्तारमा सुधार

वित्तीय विवरण अनुसार फाइनान्सको वासलात (ब्यालेन्स शीट) को आकारमा सन्तोषजनक विस्तार भएको छ:

  • कुल सम्पत्ति: २३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर २६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
  • निक्षेप संकलन: अघिल्लो वर्षको १९ अर्ब ९९ करोड रुपैयाँबाट बढेर २२ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ।
  • कर्जा प्रवाह: १६ अर्ब ८५ करोड रुपैयाँबाट विस्तार भई १८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

हाल फाइनान्सको सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल जगेडा कोष १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ।