नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

-



     सफल आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, सोमबार भने १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको हो।

नेप्से घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेका छन्।

नेप्से सूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३४९ वटा कम्पनीका ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको छ।

एभरेष्ट कलरमा सकारात्मक सर्किट, रिलायन्स स्पिनिङ्गको उच्च कारोबार

सोमबार एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १९६ रुपैयाँ ३० पैसाले बढेर प्रतिशेयर १ हजार ५०५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी र महुली लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य भने सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ, जसको २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

८ उपसमूहमा हरियाली

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सोमबार ८ उपसमूहको सूचक बढेको छ भने ५ उपसमूहको सूचक घटेको छ।

बढ्ने उपसमूहहरूमा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा रहेका छन्। बाँकी ५ वटा उपसमूहको परिसूचक भने सामान्य घटेका छन्।