
काठमाडौं, १९ साउन । एल.पि. ग्यास उद्योग संघ नेपालले बजारमा ग्यासको आपूर्ति साविक बमोजिम नियमित भइसकेकाले अब साविक अनुसार नै भरि सिलिन्डर (१४.२ केजी) बिक्री वितरण सुरु गरिएको जनाएको छ।
ग्यास पाउनका लागि उपभोक्ताहरू विभिन्न स्थानमा लाइन बस्नुपरेको र सास्ती व्यहोर्नुपरेको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले मंगलबार एक ‘हार्दिक अपील’ जारी गर्दै बजार स्थितिबारे स्पष्ट पारेको हो।
ग्यास अभाव हुनुको मुख्य कारण
विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) मात्र उपलब्ध गराइएको थियो। तर, हाल अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिएर ग्यासको आयात नियमित भइसक्दा पनि बजारमा अभाव देखिनुका ३ प्रमुख कारणहरू संघले औंल्याएको छ:
१. कमी आयात: विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात हुनु। २. आधा सिलिन्डरको प्रयोग: आवश्यकताभन्दा धेरै लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु। ३. एकैपटक धेरै सिलिन्डर भर्ने होडबाजी: ‘ग्यास पाइँदैन कि’ भन्ने त्रास वा सोचका कारण उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिन्डरहरू एकैपटक भर्न खोज्नु।
बजार सहज बनाउन संघको तीनसूत्रीय अपील
ग्यास बजारलाई छिटोभन्दा छिटो सामान्य र सहज बनाउन संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ:
- उपभोक्तालाई आग्रह: कम्तिमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्ताहरूलाई तत्काल लाइनमा नबसिदिन अपील गरिएको छ।
- विक्रेता र उद्योगीहरूलाई निर्देश: विक्रेताहरूलाई उपलब्ध ग्यास पारदर्शी र व्यवस्थित ढङ्गले वितरण गर्न तथा उद्योगहरूलाई आम उपभोक्तालाई प्राथमिकतामा राखेर बजारमा ग्यास पठाउन भनिएको छ।
- नेपाल आयल निगमलाई आग्रह: बजार पूर्ण रूपमा सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्ने कार्यमा इमानदार र कर्तव्यनिष्ठ भएर लाग्न आग्रह गरिएको छ।
संघले सबै पक्षको सानो सहयोग र हातेमालोले ग्यास नपाएर भौतारिइरहेका आम उपभोक्तालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै बजार यथाशक्य चाँडो सहज बनाउने अभियानमा लाग्न अपील गरेको छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




