राष्ट्र बैंकलाई थप सक्रिय बनाउन ऐन संशोधन आवश्यक: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

-



     सफल आवाज    
     श्रावण १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन अपरिहार्य रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वित्तीय नीति (Fiscal Policy) र मौद्रिक नीति (Monetary Policy) एकअर्काका परिपूरक भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच उच्चस्तरीय समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

सञ्चालक समिति, डेपुटी गभर्नर र संरचना सम्बन्धी प्रस्ताव

  • सञ्चालक समिति र अर्थसचिवको भूमिका: राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा सात सदस्य रहने प्रस्ताव उपयुक्त भएको बताउँदै उहाँले नेपाल सरकारले प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएकाले सञ्चालक समितिमा अर्थसचिवको उपस्थिति अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।
  • विज्ञहरूको प्रतिनिधित्व: राष्ट्र बैंकजस्तो विशिष्ट संस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्त, व्यवस्थापन, जनप्रशासन, कानुन, तथ्याङ्क तथा गणित क्षेत्रका विज्ञहरूको उपस्थिति सुनिश्चित गरिनुपर्ने उहाँको भनाइ थियो।
  • दुई जना डेपुटी गभर्नर पर्याप्त: राष्ट्र बैंकमा कार्यकारी निर्देशक (ED) हरूको छुट्टै बलियो संरचना रहेकाले तीन जना डेपुटी गभर्नर आवश्यक नभएको र दुई जना नै पर्याप्त हुने उहाँले स्पष्ट पार्नुभयो।
  • योग्यता र पदको स्पष्टता: सञ्चालक समिति सदस्यहरूको योग्यता संशोधन गर्नुपर्ने र अन्तर्राष्ट्रिय वित्तीय संस्थामा ‘कार्यकारी तह’मा काम गरेका व्यक्तिलाई अवसर दिँदा सो पदको परिभाषा स्पष्ट तोकिनुपर्नेमा उहाँले जोड दिनुभयो।

‘इम्पोसिबल ट्रिनिटी’ र मौद्रिक नीतिको सीमा

नेपालको मौद्रिक नीतिको सीमाबारे चर्चा गर्दै अर्थमन्त्री डा. वाग्लेले मौद्रिक अर्थशास्त्रको ‘इम्पोसिबल ट्रिनिटी’ (Impossible Trinity) को अवधारणा स्मरण गराउनुभयो।

“स्थिर विनिमय दर, स्वतन्त्र पुँजी प्रवाह र पूर्ण स्वतन्त्र मौद्रिक नीति—यी तीनैवटा कुरा एकैपटक सम्भव हुँदैनन्। नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम राखेकाले राष्ट्र बैंकले पूर्ण रूपमा स्वतन्त्र मौद्रिक नीति अभ्यास गर्ने अवस्था छैन।” — डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री

नेपालमा मुद्रास्फीति ठूलो मात्रामा आयातित (Imported Inflation) हुने भएकाले मौद्रिक नीतिका उपकरणहरू पनि सीमित रहेको उल्लेख गर्दै उहाँले नेपालले पुँजी प्रवाहलाई नियमन गरेर मौद्रिक नीतिको सीमित स्वायत्तता मात्र अभ्यास गरिरहेको स्पष्ट पार्नुभयो।