मनसुनी वायुको प्रभाव: उच्च जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह

-



     सफल आवाज    
     श्रावण २४ गते २०८३ मा प्रकाशित



काठमाडौं, २४ साउन। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

हाल देशभर साधारणतया बदली रही वाग्मती, गण्डकी, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको मौसम मौसम महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

  • हिमाली क्षेत्र: केही स्थानमा मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ।
  • पहाडी क्षेत्र: धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
  • तराई क्षेत्र: लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ।
  • भारी वर्षाको जोखिम: कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिको मौसम रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ।

  • हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।
  • कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
  • मधेस, कर्णाली (पहाडी भाग) र वाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ।
  • कोसी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई भाग र वाग्मतीको पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाको चेतावनी र सतर्कताको अपिल विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

सम्भावित जोखिमका कारण सर्वसाधारणको दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक पूर्वसावधानी र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।