नेपालमा २०० अर्ब लगानी भित्र्याउन लगानीकर्ता तयार

-



     सफल आवाज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा कार्यरत ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई नयाँ लगानी भित्र्याउन, भइरहेको उद्योग विस्तार गर्न र रोजगारीका अवसर सिर्जना गर्न आह्वान गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजना गरिएको छलफलमा नेपालका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधि र उत्पादनमा प्रवेश गर्न आग्रह गर्दै सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

अर्थमन्त्रीको आग्रहपछि छलफलमा सहभागी कम्पनीका उच्च अधिकारीहरूले जलविद्युत्, पेन्ट, होटेल तथा पेय पदार्थजस्ता उत्पादनमूलक क्षेत्रमा करिब २०० अर्ब रुपैयाँ थप लगानीको प्रक्रिया अघि बढिसकेको जानकारी गराए।

नयाँ सरकारको बजेट र प्रशासनिक सुधार (उद्योग विभाग, कम्पनी रजिस्ट्रार र भन्सार कार्यालय) ले लगानीकर्ताको मनोबल उच्च बनाएको उल्लेख गर्दै उनीहरूले नीतिगत स्थिरता कायम भए लगानी अझ बढाउँदै लैजाने प्रतिबद्धता जनाए।

लगानीकर्ताका प्रमुख माग तथा सुझावहरू:

  • नीतिगत तथा कानुनी सुधार: आर्थिक अपराध र फौजदारी अपराधको स्पष्ट व्याख्या, आयकर ऐनको दफा ५७ संशोधन तथा श्रमिक कानुनलाई लगानीमैत्री बनाउनुपर्ने।
  • वित्तीय सहजीकरण: माउ (प्यारेन्ट) कम्पनीबाट पुँजी ल्याउन सहज वातावरण, दोहोरो करको झन्झट अन्त्य र लाभांश तथा प्रतिफल फिर्ता (Repatriation) को प्रक्रिया सरल हुनुपर्ने।
  • कच्चा पदार्थ र कर प्रणाली: कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ प्राप्तिमा सहजीकरण, मूल्य नियन्त्रण र स्थानीय तहपिच्छे फरक-फरक कर उठाउने परिपाटीको अन्त्य।
  • प्रशासनिक तथा भौतिक सहजीकरण: जग्गाको हदबन्दी फुकुवा र औद्योगिक सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्ने।

छलफलमा सूर्य नेपाल, एनसेल, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, एसियन पेन्टस्, गोर्खा ब्रुअरी, होङ्सी शिवम् सिमेन्ट लगायत २० वटा प्रमुख बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बजेट कार्यान्वयन र अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री वाग्लेले यसअघि उद्योगी, वाणिज्य बैंकका सीईओ र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग समेत चरणबद्ध छलफल गरिसकेका छन्।