सेबोन तातियो-अध्यादेश बाटै समस्या सुल्झाउँछौँ-अध्यक्ष डा. भट्ट

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। नेप्से परिसूचक आफ्नै सर्वकालीन उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएर २,६५० को हाराहारीमा झरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलमा सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हक-हित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताएका हुन्।

छलफलका क्रममा अध्यक्ष डा. भट्टले बजार सुधारका लागि विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेश ल्याएरै भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे।

सङ्घका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्यहरू ऋषि भेटवाल र विवेक श्रेष्ठको टोली बोर्ड पुगेको थियो। भेटमा उपाध्यक्ष रावतले देशको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा मुनि खुम्चिएको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। उनले सेयर बजारलाई सीमित समूहको कमाउने भाँडो नभई अर्थतन्त्र सुधार्ने वास्तविक माध्यम बनाउनुपर्नेमा जोड दिए।

नियमन, सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ: छलफलमा लगानीकर्ताहरूले भित्री कारोबार (इन्साइडर ट्रेडिङ), मूल्यमा गरिने कृत्रिम चलखेल र सामाजिक सञ्जालमार्फत फैलाइने गलत हल्लाबारे नियामकको मौनताबारे प्रश्न उठाएका थिए। जवाफमा अध्यक्ष डा. भट्टले काम सुरु भइसकेको र लगानीकर्ता सचेतना कार्यक्रमलाई तीव्रता दिइने बताए।

अध्यक्ष डा. भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङलाई व्यावहारिक रूपमै लागू गर्न आवश्यक कार्य तीव्र गतिमा भइरहेको र लगानीकर्ताले छिट्टै प्रयोग गर्न पाउने दाबी गरे।

लगानीकर्ताको मुख्य माग तथा ध्यानाकर्षण: सङ्घका महासचिव रविन कँडेलले आश्वासन मात्र नभई कडा नियमन र कार्यान्वयनको स्पष्ट समयसीमा हुनुपर्ने बताए। सङ्घले सेबोनसमक्ष देहायअनुसारका मुख्य मागहरू राखेको छ:

  • व्यक्तिगत जवाफदेहिता: गलत निर्णय गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा उत्तरदायी बनाउने र अनुचित नाफा फिर्ता गराउने गरी कडा कानुनी व्यवस्था हुनुपर्ने।
  • समितिहरूमा प्रतिनिधित्व: बोर्डले गठन गर्ने सुधार तथा अध्ययन समितिहरूमा सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व गराउनुपर्ने।
  • विभेदकारी नीति अन्त्य: T+1 र T+2 फर्स्योट (Settlement) प्रणालीमा साना लगानीकर्तामाथि हुनसक्ने विभेद र गुनासोबारे स्पष्ट पारिनुपर्ने।

सर्वसाधारण लगानीकर्ताको बचत सुरक्षा हुन नसके बजारप्रतिको विश्वास समाप्त हुने चेतावनी दिँदै सङ्घले आफ्ना मुद्दाहरू कामबाटै सम्बोधन नभएसम्म बोर्डको गतिविधिमाथि पूर्ण विश्वास गर्न कठिन हुने निष्कर्ष निकालेको छ।