विदेशी पुनर्बीमा ब्रोकरले नेपालमा अनिवार्य कार्यालय खोल्नुपर्ने, एक वर्षको समयसीमा ताेकियाे

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा ब्रोकरहरूका लागि नयाँ र कडा सर्त लागू गरेको छ।

प्राधिकरणको नयाँ व्यवस्थाअनुसार अब विदेशी पुनर्बीमा ब्रोकरहरूले नेपालमा अनिवार्य रूपमा आफ्नै कार्यालय स्थापना गर्नुपर्ने भएको छ।

संशोधित निर्देशिका अनुसार प्राधिकरणबाट आधिकारिक सूचीकरण नम्बर (Registration Number) प्राप्त गरेको मितिले एक वर्षभित्र विदेशी पुनर्बीमा ब्रोकरहरूले नेपालमा शाखा, सम्पर्क कार्यालय वा संयुक्त लगानी (Joint Venture) मा कार्यालय स्थापना गरिसक्नुपर्नेछ।

यसअघि विदेशी ब्रोकरहरूले सीमित प्रतिनिधि मात्र खटाएर नेपालमा कारोबार सञ्चालन गर्दै आएका थिए। यसले गर्दा बजारमा पारदर्शीताको अभाव र विभिन्न बेथितीहरू देखिएकाले त्यस्ता विकृति अन्त्य गर्न समयासीमासहितको कडा व्यवस्था ल्याइएको प्राधिकरणले जनाएको छ।

सूचीकृत संस्थासँग मात्र कारोबार गर्न पाइने प्राधिकरणले नेपालका बीमक (बीमा कम्पनी) हरूका लागि पनि पुनर्बीमा कारोबारमा नयाँ नियम तोकेको छ। नयाँ व्यवस्थाअनुसार अब स्वदेशी बीमा कम्पनीहरूले:

  • स्वदेशी पुनर्बीमक
  • स्वदेशी पुनर्बीमा ब्रोकर
  • तोकिएको प्रक्रिया पूरा गरी सूचीकरण नम्बर लिइसकेका विदेशी पुनर्बीमक तथा ब्रोकरहरू

सँग मात्र बीमासम्बन्धी कारोबार गर्न पाउनेछन्। सूचीकरण नभएका वा प्रक्रिया नपुर्याएका विदेशी संस्थाहरूसँग कारोबार गर्न पूर्ण रूपमा रोक लगाइएको छ।