तीन दशककै दुर्लभ सूर्यग्रहण: युरोपमा लाखौँ मानिसले हेरे दृश्य

-



     सफल आवाज    
     श्रावण २८ गते २०८३ मा प्रकाशित



लण्डन, २८ साउन। युरोपका धेरैजसो देशहरूमा करिब ३० वर्षयताकै सबैभन्दा दुर्लभ र आकर्षक सूर्यग्रहण देखिएको छ। यो अद्भूत खगोलीय घटना अवलोकन गर्नका लागि युरोपभर लाखौँ मानिसहरू उत्सुकताका साथ सहभागी भएका बताइएकाे छ।

बेलायती समय अनुसार साँझ सात बजेपछि उच्च विन्दुमा पुगेको उक्त ग्रहणमा बेलायतका अधिकांश मानिसले ९० प्रतिशतभन्दा बढी सूर्य चन्द्रमाले ढाकेको देखेका थिए। विशेष गरी इंग्ल्याण्डको कर्नवालमा ९५ प्रतिशतसम्म सूर्य ढाकिएको थियो। बेलायतमा आंशिक ग्रहण देखिए पनि ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने पूर्ण सूर्यग्रहण लागेर केही समयका लागि अँध्यारो छाएको थियो।

ग्रहणको बाटो र समय यो खगोलीय घटनाको यात्रा रुसको साइबेरियाली उत्तरी भेगबाट सुरु भई आर्कटिक महासागर हुँदै आइसल्यान्ड र बेलायतसम्म फैलिएको थियो। बेलायतका विभिन्न भागमा साँझ ६:०० देखि ६:२० को बिचमा आंशिक ग्रहण सुरु भएको थियो।

मौसम र स्थानीयको उत्साह मध्य तथा दक्षिणी इंग्ल्याण्ड र वेल्समा मौसम सफा रहेकाले मानिसहरूले स्पष्ट रूपमा ग्रहण अवलोकन गर्न पाए। उत्तरी इंग्ल्याण्ड, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा बादल लागेको भए तापनि प्रसिद्ध स्थलहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

विशेष चस्माको अभाव भएपछि सर्वसाधारणले भान्छामा प्रयोग हुने जाली, भाँडा, बट्टा र कागजका टुक्राहरूबाट बनेका वैकल्पिक प्रविधि प्रयोग गरेर सुरक्षित रूपमा ग्रहण अवलोकन गरेका थिए।

सन् १९९९ पछिकै ठूलो ग्रहण पृथ्वी, सूर्य र चन्द्रमा एकै सीधा रेखामा पर्दा सूर्यग्रहण लाग्दछ। बेलायतबाट यी तिनै खगोलीय पिण्ड पूर्ण रूपमा एउटै रेखामा नपरेकाले त्यहाँ आंशिक ग्रहण मात्र देखिएको हो। यद्यपि, सन् १९९९ पछि बेलायतमा देखिएको यो नै सबैभन्दा ठूलो सूर्यग्रहण भएको खगोलविद्हरूले बताएका छन्।