
काठमाडौं, ३० साउन। देशकै सबैभन्दा उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा निर्मित कारखाना र बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड। सबै अनुकूलताका बाबजुद सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग भने निरन्तर ओरालो लागिरहेको छ।
गाइघाट बजारको आर्थिक विकासमा ठूलो योगदान दिएको यो उद्योग यतिबेला आन्तरिक भ्रष्टाचार, फितलो व्यवस्थापन, राजनीतिक हस्तक्षेप र समूहगत स्वार्थको भुमरीमा फसेको छ।
१. बोरा अभावमा ६ महिनादेखि सिमेन्ट थन्कियो उद्योगको कमजोर व्यवस्थापनको प्रत्यक्ष उदाहरण उत्पादन भइसकेको सिमेन्ट बोरा नहुँदा ६ महिनादेखि गोदाममै थन्किनु हो। आपूर्ति कर्ता ‘चितवनस्थित आशीर्वाद पोली प्याक्स’सँग रु ३६ लाखदेखि ४२ लाखसम्म भुक्तानी बाँकी रहेपछि बोरा आपूर्ति ठप्प भएको छ। निजी क्षेत्रका सिमेन्ट उद्योगहरू तीव्र प्रतिस्पर्धाका साथ बजारमा छाइरहँदा सरकारी उद्योग भने सामान्य बोरा खरिद गर्न नसकेर बन्दप्रायः अवस्थामा पुग्नु दुःखद बनेको छ।
२. कोइला खरिदमा दोब्बर भ्रष्टाचार निजी क्षेत्रले प्रतिटन रु १९ हजारदेखि २० हजारमा कोइला खरिद गरिरहँदा उदयपुर सिमेन्टले भने रु २५ हजारदेखि ३० हजारसम्म तिरेर खरिद गरिरहेको पाइएको छ। भन्सार विभागका अनुसार बजारमा प्रतिटन रु १३ हजारमा कोइला आयात भइरहेको समयमा उद्योगले दोब्बर मूल्यमा कोइला खरिद गरी प्रतिटन रु ५ हजारदेखि १० हजारसम्म घाटा व्यहोरेको छ। पूर्ण क्षमतामा चल्दा वार्षिक ५० हजार टन कोइला चाहिने यस उद्योगमा कोइलाको ‘जिसिभी’ र ‘मोस्चराइज’ मापदण्डमा समेत व्यापक खेलबाड हुने गरेको छ।
३. उपकरण खरिदमा करोडौँको नोक्सानी र अख्तियारको घेरा दुई वर्षअघि करिब रु ५ करोडभन्दा बढी लागतमा खरिद गरिएको २०.८ मिटरको ‘किलसेल’ मेसिन ल्याउने क्रममा दुर्घटनामा परी तीन टुक्रा भई बेवारिसे अवस्थामा थन्किएको छ। यसअघि पनि उपकरण खरिद र भुक्तानीमा ठूलो अनियमितता भएको थियो। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धकहरूसहित संलग्नहरूमाथि ६ वटा छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दामा अनुसन्धान गरिरहेको छ, जसमध्ये दुईवटा मुद्दा दायर भइसकेका छन्।
४. पुरानो प्रविधि, उच्च लागत र जनशक्ति व्यवस्थापनमा चुकेको नेतृत्व खानी उत्खननदेखि कारखाना सञ्चालनसम्म पुरानै प्रविधि, ब्लास्टिङ प्रणाली, र अधिक ऊर्जा खपत गर्ने पुराना मोटरहरूका कारण उत्पादन लागत उच्च छ। आवश्यकताभन्दा बढी प्रशासनिक जनशक्ति हुनु, प्राविधिक जनशक्ति सीपअनुसार परिचालन हुन नसक्नु, र युनियनबाजीका कारण उद्योगको उत्पादकत्व खस्कँदै गएको छ।
५. बहुमूल्य खानी हत्याउने चलखेल उद्योगको सुकौरास्थित खानीमा ७ करोड ३५ लाख मेट्रिक टन उच्च गुणस्तरको चुनढुङ्गा छ, जसमध्ये ४० लाख मेट्रिक टन मात्र उत्खनन भएको छ। यहाँको चुनढुङ्गामा ‘एमजीओ’ मात्र १.५ प्रतिशत र क्याल्सियम अक्साइड ५२ प्रतिशतभन्दा बढी रहेकाले नेपालकै उत्कृष्ट मानिन्छ। यही बहुमूल्य खानी हत्याउन निजी स्वार्थ समूहको चलखेलका कारण २०८१ असोजमा खानी तथा भूगर्भ विभागले रु ७४ लाख राजस्व नबुझाएको भन्दै लाइसेन्स खारेज गरिदिएको थियो। तर, हालै सरकारले १०० दिनभित्र राजस्व दाखिला गरी लाइसेन्स नवीकरण गराएपछि खानी खोसिने जोखिम टरेको छ।
दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगलाई अब नयाँ महाप्रबन्धक नियुक्त गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी सरकारले गरिरहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




