प्रसारण र वितरणमा खुला पहुँचको अन्तिम तयारी: निजी क्षेत्रका लागि ढोका खुल्दै

-



     सफल आवाज    
     भाद्र २ गते २०८३ मा प्रकाशित



काठमाडौं, २ भदाै । सरकारले देशको विद्युत् प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई सहभागी गराउन ‘खुला पहुँच’ (ओपन एक्सेस) कार्यान्वयनको तयारी तीव्र बनाएको छ।

विद्युत् नियमन आयोगले निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्न दिने र त्यसबापत लाग्ने ‘ह्विलिङ चार्ज’ (प्रसारण भाडा) निर्धारण गर्ने व्यवस्था अन्तिम चरणमा पुर्‍याएको छ।

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्दै प्रसारण क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण बनाउन आवश्यक निर्देशिका तथा कार्यविधि तयार भइरहेको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिए। उनका अनुसार ह्विलिङ चार्जसहितको स्पष्ट शुल्क मोडल भदौको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी छ।

ओपन एक्सेस कार्यान्वयनका लागि हाल ६ देखि ७ वटा सहायक निर्देशिका तयार भइरहेका छन्, जसमध्ये तीनवटा निर्देशिका छिट्टै सार्वजनिक परामर्शका लागि लगिनेछ। प्राप्त सुझावहरू समेटेर उक्त व्यवस्थालाई अन्तिम रूप दिइने आयोगको भनाइ छ।

खुला पहुँचका लागि योग्य हुने मापदण्ड:

  • उत्पादक तथा उपभोक्ता: १.५ मेगावाटभन्दा बढी क्षमताका विद्युत् उत्पादक, क्याप्टिभ उत्पादक, र ठूला औद्योगिक वा व्यावसायिक उपभोक्ता।
  • आन्तरिक कारोबार: न्यूनतम १ मेगावाट विद्युत् आवश्यक।
  • अन्तरदेशीय कारोबार: न्यूनतम १० मेगावाट विद्युत् आवश्यक।

अध्यक्ष धितालका अनुसार आगामी एक दशकमा देशको प्रसारण लाइनको क्षमता उल्लेख्य रूपमा विस्तार गर्नुपर्ने भएकाले निजी क्षेत्रको सहभागिता अपरिहार्य बनेको हो।

हाल नेपालमा करिब ७ हजार सर्किट किलोमिटर प्रसारण लाइन रहेकोमा आगामी दिनमा यसलाई १७ हजार सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य राखिएको छ। निजी क्षेत्रको प्रवेशसँगै पूर्वाधार विकासमा गति पुग्ने र विद्युत् व्यापार थप सहज हुने अपेक्षा गरिएको छ।