
काठमाडाैं, २ भदाै । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाउँदै सर्वसाधारणलाई अनावश्यक सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।
काठमाडौँ उपत्यकामा दैनिक औसत मागभन्दा बढी ग्यास आपूर्ति भइरहेकाले केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने निगमले जनाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हुने गरेकोमा अहिले औसतमा ५ देखि ८ हजार बढी सिलिण्डर बजारमा पठाइएको छ।
भदौ १ गते ५२ हजार ५७६ र भदौ २ गते ४७ हजार ३८८ थान सिलिण्डर बिक्रीका लागि पठाइएको छ। पछिल्लो एक साता (साउन २७ देखि भदौ २ सम्म) मा मात्रै ३ लाख ९ हजार ५५३ वटा (दैनिक औसत ४४ हजारभन्दा बढी) सिलिण्डर बिक्री भइसकेको छ।
एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत ग्यास बिक्री सुरु भइसकेकाले एक साताभित्रै ग्यास अभावको समस्या पूर्ण समाधान हुने बताएका छन्।
बिक्री र आयातको तथ्याङ्क:
- साउनको बिक्री: गत साउनमा ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर (५७,३१६ मेट्रिक टन) बिक्री भएको छ, जुन अघिल्लो आवको साउनको तुलनामा २९.३ प्रतिशतले बढी हो।
- माग र आपूर्तिको अवस्था: सामान्य अवस्थामा देशभर दैनिक करिब १ लाख १० हजार सिलिण्डर खपत हुने गर्दछ। गत फागुनमा ग्यास आयात घटेपछि आधा भरिएका सिलिण्डर बिक्री गरिएकाले त्यसको असर केही समय देखिए पनि अहिले आपूर्तिमा समस्या नरहेको व्यवसायीहरूको भनाइ छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




