नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा रौनक: लाभांश घोषणामा क्यापिटलहरू अगाडि

-



     सफल आवाज    
     भाद्र ४ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ४ भदाै । नेपाली पुँजी बजारमा लाभांशको ‘मौसम’ सुरु भएसँगै लगानीकर्तामा नयाँ उत्साह थपिएको छ। नयाँ आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीहरूले आफ्ना शेयरधनीलाई प्रतिफल बाँड्न थालेका हुन्।

लाभांश घोषणाको पहिलो लहर म्युचुअल फण्डहरूबाट सुरु भए पनि यो क्रम अब विकास बैंक र हाइड्रोपावर कम्पनीहरूसम्म विस्तार भइसकेको छ।

खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्डको अवस्था

खुलामुखी म्युचुअल फण्डहरूतर्फ लाभांश घोषणाको सुरुआत सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (एसएसआइएस) ले ३ प्रतिशत नगद लाभांश दिएर गरेको छ। यो दर हाल वाणिज्य बैंकहरूले बचत खातामा दिइरहेको औसत ब्याज (२.७५% देखि ३.५%) कै हाराहारीमा छ।

अन्य खुलामुखी फण्डहरूमा:

  • कुमारी सुनौलो लगानी योजना: ४.७ प्रतिशत नगद लाभांश
  • एनएमबी सरल बचत फन्ड-इ: ५.२५ प्रतिशत नगद लाभांश

(नोट: खुलामुखी फण्डको कारोबार नेप्सेमा नभई क्यापिटलले तोकेको स्थानमा अघिल्लो दिनको ‘न्याभ’का आधारमा हुन्छ।)

बन्दमुखी (क्लोज इन्डेड) म्युचुअल फण्डको विवरण

यस वर्ष बन्दमुखी म्युचुअल फण्डहरूले अधिकतम १० प्रतिशतसम्म मात्रै नगद लाभांश घोषणा गरेका छन्। गत वर्ष धेरैजसो फण्डहरूले २० प्रतिशतभन्दा बढी (सानिमा लार्ज क्यापको २१.०५% सम्म) लाभांश दिएका थिए।

यस वर्ष घोषित प्रमुख बन्दमुखी फण्डका लाभांशहरू:

म्युचुअल फण्ड / क्यापिटलयोजनाको नामघोषित नगद लाभांश
माछापुच्छ्रे क्यापिटलमाछापुच्छ्रे इक्विटी फन्ड८%
कुमारी क्यापिटलकुमारी इक्विटी फन्ड / कुमारी धनवृद्धि योजना
कुमारी सबल योजना
१०%
२.९०%
सिद्धार्थ क्यापिटलसिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२
१०%
८%
एनएमबी क्यापिटलएनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-२
एनएमबी हाइब्रिड फन्ड एल-२
एनएमबी ५०
१०%
४.५%
३.१५%
रिलायबल क्यापिटलरिलायबल समृद्धि योजना८.४२११%

हाइड्रोपावर र विकास बैंक पनि मैदानमा

म्युचुअल फण्डहरूसँगै अन्य सूचिकृत कम्पनीहरूले पनि प्रतिफल घोषणा गर्न थालेका छन्:

  • माण्डू हाइड्रोपावर: १२ प्रतिशत नगद लाभांश
  • कामना सेवा विकास बैंक: १५ प्रतिशत नगद लाभांश
  • सांग्रिला डेभलपमेन्ट बैंक: १०.५२ प्रतिशत कुल लाभांश (४% बोनस शेयर र ६.५२% नगद)

वित्तीय लेखापरीक्षण (अडिट) सकिने क्रमसँगै अब आउने दिनमा वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक कम्पनीहरूले पनि धमाधम लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ।