एटीएम र डेबिट कार्डको प्रयोग घट्दा क्यूआर र मोबाइल बैंकिङमा आकर्षण

-



     सफल आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ भदाै । नेपालमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को प्रयोग तीव्र गतिमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को १२ महिनाको तथ्यांकअनुसार एक वर्षको अवधिमा मोबाइल बैंकिङ, क्यूआर कोड र वालेटमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको हो।

डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग बढ्दा परम्परागत रूपमा प्रयोग हुँदै आएका एटीएमबाट नगद झिक्ने र डेबिट कार्डमार्फत हुने कारोबार भने घटेका छन्।

कारोबार संख्यामा मोबाइल बैंकिङको वर्चस्व

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असारमा मोबाइल बैंकिङमार्फत हुने कारोबारको संख्या ८ करोड २६ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा (२०८२ असार) यस्तो कारोबार ६ करोड ५५ लाख रहेकोमा एक वर्षमा २६.१२ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, क्यूआरमा आधारित भुक्तानी कारोबार एक वर्षको अवधिमा ७२.९६ प्रतिशतले बढेर ४ करोड २ लाखबाट ६ करोड ९६ लाख पुगेको छ। वालेटमार्फत हुने कारोबार पनि ४१.९३ प्रतिशतले बढेर ५ करोड ७० लाख पुगेको छ।

माध्यमगत कारोबार संख्याको तुलना (२०८२ असार र २०८३ असार):

  • मोबाइल बैंकिङ: ६ करोड ५५ लाखबाट बढेर ८ करोड २६ लाख (+२६.१२%)
  • क्यूआर भुक्तानी: ४ करोड २ लाखबाट बढेर ६ करोड ९६ लाख (+७२.९६%)
  • वालेट: ४ करोड १९ लाखबाट बढेर ५ करोड ७० लाख (+४१.९३%)
  • फास्टर पेमेन्ट सिस्टम: १ करोड ८० लाखबाट बढेर २ करोड २१ लाख (+२२.६२%)
  • क्रस–बोर्डर QR: १ लाख ५५ हजारबाट बढेर ४ लाख २५ हजार (+१७३.४२%)
  • ई–कमर्स: १ लाख ९६ हजारबाट बढेर ३ लाख २४ हजार (+६४.९६%)
  • क्रेडिट कार्ड: २ लाख ८८ हजारबाट बढेर ३ लाख ८३ हजार (+३३.०९%)
  • इन्टरनेट बैंकिङ: ५ लाख ६४ हजारबाट बढेर ६ लाख ८७ हजार (+२१.७०%)
  • आईपीएस: ५४ लाख ४१ हजारबाट बढेर ५६ लाख ३८ हजार (+३.६३%)

कारोबार रकममा पनि मोबाइल बैंकिङ नै अगाडि

संख्याका आधारमा मात्र नभई कारोबार रकमका आधारमा पनि मोबाइल बैंकिङ नै सबैभन्दा ठूलो माध्यम बनेको छ। २०८३ असारमा मोबाइल बैंकिङमार्फत ६ खर्ब ९६ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष असारमा ५ खर्ब ३० अर्ब २८ करोड रुपैयाँ रहेकोमा यस वर्ष कारोबार रकम ३१.४ प्रतिशतले बढेको हो।

सोही अवधिमा क्यूआरमार्फत हुने कारोबार रकम ६७.७ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १ खर्ब १३ अर्ब २० करोड)। वालेटमार्फत हुने कारोबार रकम पनि ४८ अर्ब ४४ करोडबाट १९.८ प्रतिशतले बढेर ५८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, क्रस–बोर्डर क्यूआरमार्फत हुने कारोबार रकममा १६२ प्रतिशतको उच्च वृद्धि भई ४४ करोड ६९ लाखबाट १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

एटीएम र डेबिट कार्डको प्रयोग घट्दो

डिजिटल माध्यमको विस्तारसँगै नागरिकहरूको झुकाव नगद छाडेर डिजिटलतर्फ सोहोरिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार एटीएम नगद निकासी र डेबिट कार्डको प्रयोगमा गिरावट आएको छ।

एटीएमबाट नगद झिक्ने कारोबार संख्या १ करोड १० लाख ७९ हजारबाट ९.८३ प्रतिशतले घटेर ९९ लाख ८७ हजारमा सीमित भएको छ। त्यस्तै, डेबिट कार्डमार्फत हुने कारोबार पनि १ करोड १९ लाख ७१ हजारबाट ११.८६ प्रतिशतले घटेर १ करोड ५ लाख ५५ हजारमा झरेको छ। पीओएस (POS) मार्फत हुने कारोबारमा भने ३२.३१ प्रतिशतको ठूलो गिरावट आएर ७ लाख ६९ हजारमा सीमित भएको छ।

समग्रमा, नेपालको भुक्तानी प्रणाली तीव्र गतिमा मोबाइल तथा क्यूआर-आधारित डिजिटल प्रणालीतर्फ उन्मुख भइरहेको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पारेको छ।