बाढी प्रभावितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

-



     सफल आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ भदाै । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

ग्रुपले २०८३ भदौ १३ गते (शनिबार) एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो।

आइएमई ग्रुपका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न भगिनी कम्पनीहरूमार्फत यो रकम कोषमा उपलब्ध गराइनेछ।

यी कम्पनीहरूले जुटाउने छन् सहयोग

सहयोग रकम जुटाउन ग्रुपअन्तर्गतका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार र आइएमई फाउण्डेसन सहभागी हुनेछन्।

यसैगरी, ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीहरूले समेत आफ्नो एक दिनको तलब बराबरको रकम उद्धार कोषमा योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

निःशुल्क रेमिटेन्स र खल्तीमार्फत सहयोगको सुविधा

विपद्को यो कठिन समयमा विदेशमा रहेका नेपालीहरूले नेपालमा सहयोग रकम पठाउन सकून् भन्ने उद्देश्यले आइएमईले निःशुल्क रेमिटेन्स सेवा सञ्चालन गरेको छ।

साथै, ‘खल्ती बाई आइएमई’ (Khalti) मोबाइल वालेट प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै र निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ। आइएमई फाउण्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्रीहरूसमेत प्रभावित क्षेत्रमा पुर्‍याइने ग्रुपले प्रतिबद्धता जनाएको छ।

ग्रुपद्वारा उपलब्ध गराउन लागिएको यस सहयोगबाट बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न वितरण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

आइएमई ग्रुपले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विषम परिस्थितिमा उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायहरूप्रति आभार प्रकट गरेको छ।

ग्रुपले यसअघि पनि देशमा आइपरेका विभिन्न बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता प्राकृतिक विपद्का समयमा अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक र मानवीय सहयोग पुर्‍याउँदै आएको छ।