बाढी-पहिरोपीडितका लागि क्षत्री समाज युएईद्वारा रु. १ लाख ४५ हजार सहयोग

-



     सफल आवाज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित



युएई, १६ भदाै। हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण घरबारविहीन भएका नागरिक तथा प्रभावित परिवारको राहत र उद्धारका लागि ‘क्षत्री समाज नेपाल, युएई शाखा’ले आर्थिक सहयोग प्रदान गरेको छ।

युएईमा रहेका खस क्षत्रीहरूको साझा संस्था क्षत्री समाज युएईले बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. १,४५,५१०.६५ (एक लाख पैंतालीस हजार पाँच सय दस रुपैयाँ पैँहट्टी पैसा) जम्मा गरेको हो।

संस्थाले युएईस्थित अल अन्सारी एक्सचेन्ज (Al Ansari Exchange) मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उक्त सहयोग रकम पठाएको जनाएको छ।

विपद्को यस दुःखद परिस्थितिमा पीडित नागरिकहरूको घाउमा मलम लगाउन र उनीहरूको जीवन पुनःस्थापनाका लागि युएई शाखाले ऐक्यबद्धता जनाउँदै प्रवासबाट सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष कृष्ण बहादुर ढकालले बताउनु भयाे ।

अप्ठ्याराे परिस्थितिमा आशाको किरण

प्राकृतिक विपत्तिका अगाडि मानिसको भौतिक क्षमता कमजोर ठहरिए पनि आपसमा बाँडिने मानवीय संवेदना, भाइचारा र सहयोगले नै यस्ता अप्ठ्याराे परिस्थितिमा आशाको किरण बाल्ने गर्दछ।

आफ्नै देशमा बाढी र पहिरोले सयौँ परिवारको ओठको मुस्कान र ओत लाग्ने छाना खोसेको खबरले प्रवासमा रहेका नेपालीहरूको मन पनि गहिरोसँग दुखाएको छ।

आफ्नो श्रम र पसिनाको कमाईबाट अलिकति कटौती गरेर मलम लगाउन खोज्ने युएईस्थित क्षत्री समाजको यो सानो प्रयास केवल रकमको अंक मात्र होइन, बरु दूरदराजका पीडितहरूप्रतिको अगाध प्रेम, आत्मियता र दायित्वबोधको एउटा जीवन्त प्रमाण हो।

सेवा नै धर्म हो भन्ने मूल मर्मलाई आत्मसात् गर्दै अप्ठ्यारो परेका बेला एकापसमा हात फैलाउनु र साथ दिनु नै सच्चा मानवता हो। जन्मभूमिमा आइपरेको यस भीषण विपत्तिमा क्षत्री समाज युएईले दर्शाएको यो अग्रसरताले “जहाँ रहे पनि नेपालीको मन त नेपाली नै हुन्छ” भन्ने भावनालाई थप उजागर गरेको छ।

पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पुन:स्थापना र पुनर्निर्माणका लागि प्रवासबाट हात मिलाइएको यो ऐक्यबद्धताले आगामी दिनमा पनि सम्पूर्ण नेपालीहरूलाई दुःख-सुखमा एकै ठाउँमा उभिन र मानवीय सेवामा समर्पित हुन उत्प्रेरित गरिरहनेछ।