नेप्सेमा ९.२४ अंकको सुधार, पौने ३ अर्बकाे कारोबार

-



     सफल आवाज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ भदाै। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। विगत ६ कारोबार दिनदेखि लगातार घट्दै आएको बजारमा यस दिन भने सुधार देखिएको हो।

याे दिन नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले सकारात्मक रहेका छन्।

कारोबार रकममा गिरावट

नेप्से परिसूचक बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने संकुचन आएको छ। सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३४१ वटा कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर ४८ हजार ३४१ पटकको कारोबारमा कुल २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ।

कमाउने र गुमाउने कम्पनीहरू

आजको कारोबारमा माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। त्यस्तै, एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत र इमर्जीङ्ग नेपालको सेयरमूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ। यता, उपकार लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले भने सर्वाधिक ८.४८ प्रतिशत मूल्य गुमाएका छन्।

शीर्ष कारोबार हुने कम्पनीहरू

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसैगरी, शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने १ उपसमूह मात्र रातो बनेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०० प्रतिशतले घटेको छ।