
काठमाडौं, १६ भदाै। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न भागमा ठूलो धनजनको क्षति भएपछि निर्जीवन बीमा कम्पनीहरूमा अर्बौँ रुपैयाँको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी प्रभावित बीमितहरूबाट हालसम्म कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन्। बीमितहरूले कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक तथा अनुमानित दाबी भुक्तानीका लागि आवेदन दिएका हुन्।
इन्जिनियरिङ र ठेक्का जोखिममा सर्वाधिक क्षति
प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा (Engineering & Contractors’ All Risks Insurance) तर्फ देखिएको छ। यस शीर्षकअन्तर्गत ५२ वटा दाबीमार्फत सर्वाधिक २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको क्षति दाबी गरिएको छ।
अन्य शीर्षकगत दाबीको विवरण:
- सम्पत्ति बीमा: ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ
- मोटर बीमा: ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ
- परिवहन बीमा: ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ
- स्वास्थ्य बीमा: ४ वटा दाबीबाट ४ करोड १६ लाख रुपैयाँ
- अन्य बीमा: ५४ वटा दाबीबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ
कुन कम्पनीमा कति दाबी?
बाढी प्रभावित क्षेत्रका बीमितहरूले कुल १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा दाबी पेस गरेका छन्। जसमध्ये सबैभन्दा बढी द ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८ वटा दाबीमार्फत १३ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ४ करोड ९७ लाख ४८ हजार रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडमा २ करोड १० लाख २८ हजार रुपैयाँभन्दा बढीको दाबी आएको छ। सबैभन्दा कम भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वटा दाबीमार्फत ५ लाख रुपैयाँ मात्रै परेको प्राधिकरणले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




