राष्ट्र बैंकद्वारा १८ अर्बको निक्षेप संकलन गर्न बोलकबोल आह्वान

-



     सफल आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बजारबाट १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न ९० दिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार उक्त ३ महिने निक्षेप संकलन उपकरणको बोलकबोल भदौ १८ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुनेछ। सोही दिन निष्काशन गरिने यस उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ मंसिर १६ गतेका लागि तोकिएको छ।

बोलकबोलका मुख्य शर्त तथा विशेषताहरू:

  • सहभागी हुन पाउने संस्थाहरू: राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
  • बोलकबोल रकम: न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (१८ अर्ब) सम्म आवेदन दिन सकिनेछ।
  • ब्याजदर निर्धारण: ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। बहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने सुविधा दिइएको छ। दशमलबपछिको चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ।
  • बाँडफाँड प्रक्रिया: सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर भई आह्वान रकमभन्दा बढी भएमा ‘प्रो-राटा बेसिस’ (Pro-rata Basis) मा बाँडफाँड हुनेछ।
  • धितो सुविधा: राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यसलाई धितोको रूपमा प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर, बैंकहरूले यसलाई वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाउनेछन्। साथै, यो रकम भुक्तानी मिति अगावै (Pre-mature) फिर्ता हुने छैन।