
काठमाडौं, १९ भदाै । सरकारले आगामी चाडपर्व (दशैँ, तिहार तथा छठ) लाई लक्षित गरी १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उक्त परिमाणको चिनी आयात गर्न दिने निर्णय गरेको हो। चाडपर्वका बेला हुन सक्ने चिनीको सम्भावित अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले यो कदम चालेको हो।
सरकारको यस निर्णयलाई नेपाल चिनी उद्योग संघका साथै अन्य सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यसले बजारमा चिनीको आपूर्ति सहज हुनुका साथै कालोबजारी रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारको यस निर्णयको प्रशंसा गर्दै यसले आम उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने बताएका छन्। “अहिले देशमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको अवस्थामा राज्यले परिमाण नै तोकेर १ प्रतिशत भन्सार छुटमा आयात गर्न दिनु सराहनीय निर्णय हो,” अध्यक्ष अग्रवालले भने, “यसले हालको अभावलाई सम्बोधन गर्छ र सहुलियत भन्सारका कारण उपभोक्ताले सस्तो मूल्यमा चिनी पाउनेछन्।”
तथापि, आयात गरिने चिनीको समयसीमा (डेडलाइन) का विषयमा भने उनले विशेष चासो व्यक्त गरेका छन्। अध्यक्ष अग्रवालका अनुसार आयातित चिनी अनिवार्य रूपमा दशैँ र तिहारभित्रै नेपाली बजारमा पुगिसक्नुपर्छ।
“यो निर्णय चाडपर्वलाई नै लक्षित गरेर गरिएकाले सरकारले कडा समयसीमा तोक्नुपर्छ। यदि यो चिनी तिहारपछि आयो भने स्वदेशी क्रसिङ सिजन सुरु भई आन्तरिक उत्पादन पनि बजारमा आउँछ, जसले हाम्रा स्वदेशी उद्योगलाई समस्यामा पार्न सक्छ,” अग्रवालले थपे, “त्यसैले साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई दशैँ–तिहार अगावै चिनी भित्र्याइसक्ने गरी स्पष्ट निर्देशन दिनुपर्छ।”
छिमेकी मुलुक भारतले चिनी निर्यातमा कडाइ गरिरहेको सन्दर्भमा आयात सम्भव छ वा छैन भन्ने अन्योलबारे स्पष्ट पार्दै उनले भारतका ‘निर्यातमुखी’ (Export-based) कारखानाहरूबाट कच्चा वा अर्ध-प्रशोधित चिनी प्रशोधन गरी नेपाल ल्याउन सकिने कानुनी प्रावधान रहेकाले आयातमा कुनै प्राविधिक समस्या नहुने दाबी गरे।
सरकारको यो पूर्वतयारीसँगै यस वर्षको चाडपर्वमा चिनीको सहज आपूर्ति हुने र बजार मूल्य नियन्त्रणमा रहने विश्वास लिइएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




