सानिमा बैंकले डाक्याे २२ औं एजिएम, लभांश पारित गरिने

-



     सफल आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ भदाै । सानिमा बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने गरी सभा डाकेको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीहरूका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

त्यसैगरी, अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) सेयर बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको लागि समानुपातिक रूपमा वितरण गर्न स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ।

साधारणसभाका प्रमुख एजेन्डाहरू:

  • लाभांश अनुमोदन: साधारण सेयरमा १०% र अग्राधिकार सेयरमा ८.२५% नगद लाभांश पारित गर्ने।
  • सञ्चालक निर्वाचन: सर्वसाधारण (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने।
  • वित्तीय विवरण पारित: गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने।
  • लेखापरीक्षक नियुक्ति: चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

असोज १ गते बुक क्लोज

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।

यसअनुसार भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।