
काठमाडौं, २१ भदाै। आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गर्ने क्रमसँगै शेयर बजारका लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ। अहिलेसम्म सार्वजनिक लाभांश सूचीमा गरिमा विकास बैंक सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने बिकास बैंक बनेको छ।
सूचीकृत कम्पनीहरूले बोनस र नगद लाभांश मिलाएर लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गरे पनि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूको प्रतिफल भने समग्रमा खस्किएको छ।
विकास बैंक र जलविद्युतमा उत्साह, वाणिज्य बैंकको प्रदर्शन सन्तुलित
गरिमा विकास बैंकले अघिल्लो वर्षको १०.५३ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि गर्दै १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ।
त्यस्तै जलविद्युत क्षेत्रतर्फ सुपर मादी हाइड्रोपावरले लाभांशमा ठूलो फड्को मारेको छ। अघिल्लो वर्ष ५.२६ प्रतिशत मात्र लाभांश दिएको यस कम्पनीले यसपालि १५ प्रतिशत बोनस शेयरसहित कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ। मान्डु हाइड्रोपावरले पनि लाभांश १० प्रतिशतबाट बढाएर १२ प्रतिशत नगद पुर्याएको छ। विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद र सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनससहित कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।
वाणिज्य बैंकहरूतर्फ एभरेस्ट बैंकको लाभांश अघिल्लो वर्षको २० प्रतिशतबाट घटेर १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) मा झरेको छ। तर, ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको ८ प्रतिशतबाट बढाएर ६ प्रतिशत बोनससहित १० प्रतिशत र सानिमा बैंकले पनि अघिल्लो वर्षको ७.३७ प्रतिशत सुधार गर्दै १० प्रतिशत नगद लाभांश दिएका छन्।
यता फाइनान्स क्षेत्रको आइसिएफसी फाइनान्सको लाभांश १५.७९ प्रतिशतबाट घटेर १०.५२ प्रतिशतमा र नेपाल पूर्वाधार बैंक (निफ्रा) को लाभांश ६.३२ प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा सीमित भएको छ।
म्युचुअल फन्डहरूको प्रतिफलमा भने निराशा
शेयर बजारको उतारचढावका कारण खुलामुखी र बन्दमुखी दुवै प्रकारका म्युचुअल फन्डहरूको प्रदर्शन अघिल्लो वर्षको तुलनामा खस्किएको छ।
बन्दमुखी फन्डतर्फ अघिल्लो वर्ष २० प्रतिशत लाभांश बाँडेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ ले यस वर्ष ८ प्रतिशत मात्र घोषणा गरेको छ। सानिमा ग्रोथ फन्ड १५.७९ प्रतिशतबाट ५ प्रतिशतमा, एनएमबी ५० फन्ड १५ प्रतिशतबाट ३.१५ प्रतिशतमा र कुमारी सबल योजना ९ प्रतिशतबाट २.९ प्रतिशतमा झरेका छन्।
यद्यपि बन्दमुखी फन्डहरूमा हिमालयन ८०-२० ले १५ प्रतिशत लाभांश दिँदै राहत दिएको छ भने प्रभु स्मार्ट फन्डले लाभांश १० प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्याएको छ। प्रभु सेलेक्ट फन्डले लगातार दुवै वर्ष १२ प्रतिशत लाभांश कायम राखेको छ।
खुलामुखी फन्डतर्फ एनएमबी सरल बचत फन्ड-ई ले मात्र आफ्नो प्रतिफल ४.२७ प्रतिशतबाट बढाएर ५.२५ प्रतिशत पुर्याएको छ। अर्कोतर्फ कुमारी सुनौलो लगानी योजनाको लाभांश ८.८८ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको प्रतिफल ८ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ।
नेपालको शेयर बजारमा आएको सुस्तता र आरोह-अवरोहका कारण म्युचुअल फन्डहरूले अघिल्लो वर्षको जस्तो प्रतिफल कायम राख्न नसके तापनि सुदृढ विकास बैंक, जलविद्युत र वाणिज्य बैंकहरूले बोनस सेयरमार्फत पूँजी वृद्धि गर्दै लगानीकर्तालाई राम्रो प्रतिफल दिएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




