
काठमाडौं, २४ भदाै। नेपाल सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ (रु. १ हजार करोड) बराबरको ५ वर्षे अवधिको ‘विकास ऋणपत्र–२०८८’ निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल प्रक्रियामार्फत उक्त ऋणपत्र बिक्री गर्न लागेको हो।
कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार ऋणपत्र खरिदका लागि आगामी २०८३ भाद्र २४ गते बुधबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बोलपत्र पेस गर्न सकिनेछ। यसको निष्कासन भाद्र २५ गते बिहीबार हुनेछ भने साँवा भुक्तानी ५ वर्षपछि अर्थात् २०८८ भाद्र २५ गते गरिनेछ।
८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धीलाई
निष्कासित कुल रकममध्ये ८५ प्रतिशत (रु. ८५० करोड) प्रतिस्पर्धी र १५ प्रतिशत (रु. १५० करोड) अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी बोलदाताको कोटामा पूरा आवेदन नपरेमा बाँकी रकम प्रतिस्पर्धी बोलदातालाई नै बिक्री गरिने कार्यालयले जनाएको छ।
को-को हुन पाउँछन् सहभागी ?
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंकिङ संस्था, कम्पनी, फर्म तथा सर्वसाधारण व्यक्तिहरू सहभागी हुन पाउनेछन्। तर, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अप्रतिस्पर्धी बोलदाताका रूपमा भने भाग लिन पाउने छैनन्।
खरिद सीमा र ब्याजदर प्रक्रिया
- खरिद सीमा: लगानीकर्ताले न्यूनतम ५ लाख रुपैयाँ र बढीमा ५ लाखले भाग जाने गरी कुल निष्कासित रकमको सीमाभित्र रहेर आवेदन दिन सक्नेछन्।
- ब्याजदर निर्धारण: बोलकबोलका माध्यमबाट सानोदेखि ठूलो क्रममा ब्याजदर तय गरी ‘कट-अफ’ (Cut-Off) दरलाई एकल ब्याजदर कायम गरिनेछ। सो वा सोभन्दा कम ब्याज कबोल गर्ने सबै बोलदाताले सोही एकल दरमा ऋणपत्र पाउनेछन्।
- ब्याज भुक्तानी: ब्याजको भुक्तानी अर्धवार्षिक (प्रत्येक ६/६ महिनामा) हुनेछ र आर्जित ब्याजमा नियमानुसार आयकर लाग्नेछ।
आवेदन कसरी दिने? इच्छुक लगानीकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डोम्स प्रणालीको वेबसाइट (https://doms.gov.np) मार्फत अनलाइन बोलपत्र पेस गर्नुपर्नेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत ‘अर्नेष्ट मनी’ (बयान रकम) नेपाल राष्ट्र बैंकमा रहेको खाता (खाता नं. 1200000/015.115.524) मा जम्मा गरी भौचर भाद्र २४ गते दिउँसो ३:०० बजेभित्र कार्यालयको इमेल (internaldebt@pdmo.gov.np) मा पठाउनुपर्नेछ। सफल बोलदाताले बाँकी रकम निष्कासन मिति (भाद्र २५ गते) मध्यान्ह १:०० बजेभित्र जम्मा गरिसक्नुपर्नेछ।
धितो र दोस्रो बजार कारोबार
यस ऋणपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने सुविधा रहेको छ। साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डोम्स प्रणालीमार्फत हुनेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




