
काठमाडौं, २६ भदाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आर्थिक नीति तथा निजी क्षेत्रप्रतिको दृष्टिकोणलाई लिएर कडा आलोचना गरेका छन्।
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति अनुदार रहेको आरोप लगाउँदै थापाले पछिल्ला निर्णय र अभिव्यक्तिहरूले सरकारको स्पष्ट आर्थिक दिशा नदेखिएको दाबी गरे।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको सोच विकास र खुला बजार अनुकूल नरहेको टिप्पणी गरे। “प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन, मेरो बुझाइमा उहाँ निजी क्षेत्रलाई मन पराउनुहुन्न (हि हेट्स प्राइभेट सेक्टर),” थापाले भने, “यो मेरो अनुमान मात्र होइन, उहाँका पछिल्ला अभिव्यक्ति र कदमहरूले यही पुष्टि गर्छन्।”
दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड जस्ता बन्द वा घाटामा रहेका संस्थान पुनः सञ्चालन गर्ने सरकारको प्राथमिकताप्रति लक्षित गर्दै उनले राज्य आफैँ व्यापार-व्यवसायमा अल्झिन नहुने बताए। सरकारी उद्योगहरू फस्टाऊन् भन्ने शुभेच्छा रहे पनि वर्तमान युगमा राज्यको काम उद्योग चलाउने नभई निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउनु रहेको उनको तर्क थियो।
२०४६ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अंगीकार गरेको उदार, खुला र बजारमुखी अर्थतन्त्रको स्मरण गराउँदै थापाले भने, “तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आजको आर्थिक विकासको आधार नै बन्ने थिएन। देशलाई कुन दिशामा लैजाने भन्ने कुरा नेतृत्वको आर्थिक प्राथमिकताले तय गर्छ।”
प्रधानमन्त्रीले समग्र अर्थतन्त्रको नेतृत्व कसरी गर्ने भन्नेबारे ठोस खाका कोर्न नसकेको उल्लेख गर्दै थापाले सरकारलाई निजी क्षेत्रको भूमिका विस्तार गर्ने र लगानी प्रवर्द्धन गर्ने नीति लिन आग्रह गरे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




