एनपीएल नियन्त्रण र साइबर सुरक्षामा कडाइ गर्दै राष्ट्र बैंक: ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ लागू

-



     सफल आवाज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित



काठमाडौं, २९ भदाै । बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको खराब कर्जा (एनपीएल) को जोखिम न्यूनीकरण गर्न र ऋण प्रवाहमा हुने मनपरी रोक्न नेपाल राष्ट्र बैंकले कडा कदम चालेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कर्जा स्वीकृति, मूल्यांकन र असुली प्रक्रियालाई थप व्यवस्थित र कडा बनाउँदै नयाँ ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ बमोजिम जारी गरिएको यो परिमार्जित व्यवस्था ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य गरिएको छ। यसअघि साढे सात वर्षअघि (सन् २०१८ मा) जारी गरिएको मार्गदर्शनलाई समयसापेक्ष परिमार्जन एवं अध्यावधिक गरी लागू गरिएको हो।

कर्जा स्वीकृतिमा तीन तहको सुरक्षा र कडा सर्त

नयाँ मार्गदर्शनको सबैभन्दा महत्त्वपूर्ण पक्ष कर्जा जोखिम व्यवस्थापनमा ल्याइएको कठोर प्रावधान हो। अब बैंकहरूले नयाँ ऋण प्रवाह गर्दा वा पुराना ऋण नवीकरण गर्दा ऋणीको नगद प्रवाह (क्यास फ्लो), भुक्तानी क्षमता, कर्जा सूचना र व्यावसायिक दक्षताको गहिरो विश्लेषण अनिवार्य रूपमा गर्नुपर्नेछ।

त्यस्तै, कर्जा प्रवाह गर्ने एकाइ र त्यसको मूल्यांकन तथा स्वीकृति गर्ने एकाइ पूर्ण रूपमा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था गरिएको छ। ऋण बिग्रिने संकेत देखिनासाथ व्यवसाय पुनर्संरचना, धितो थप वा कानूनी असुलीको प्रक्रियामा तत्काल जानुपर्नेछ।

जोखिम व्यवस्थापनका लागि संस्थाभित्र तीन तहको सुरक्षा घेरा तय गरिएको छ: १. पहिलो तह: व्यावसायिक एकाइ (बिजनेस युनिट) २. दोस्रो तह: मुख्य जोखिम अधिकृतको नेतृत्वमा स्वतन्त्र जोखिम विभाग ३. तेस्रो तह: आन्तरिक लेखापरीक्षण

तरलता, साइबर सुरक्षा र वातावरणीय जोखिममा विशेष ध्यान

कर्जाका साथै तरलता व्यवस्थापनमा पनि राष्ट्र बैंकले कडा सीमा तोकेको छ। बैंकहरूले ठूला निक्षेपकर्ता र क्षेत्रगत आधारमा निक्षेपको सांद्रता (कन्सन्ट्रेसन) मा सीमा तय गर्नुपर्नेछ भने आकस्मिक तरलता अभाव टार्न पूर्वतयारी (कन्टिन्जेन्सी फन्डिङ प्लान) अनिवार्य बनाइएको छ।

बढ्दो प्रविधि प्रयोगसँगै बैंकिङ क्षेत्रमा हुन सक्ने साइबर आक्रमण, डिजिटल ठगी र डाटा चोरी नियन्त्रण गर्न प्रत्येक बैंकमा साइबर सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र आपतकालीन प्रतिक्रिया टोली गठन गर्नुपर्नेछ।

यसैगरी, जलवायु परिवर्तनका कारण कृषि तथा पूर्वाधार क्षेत्रका कर्जामा पर्न सक्ने जोखिम सम्बोधन गर्न वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) लाई कर्जा प्रक्रियामा अनिवार्य जोड्दै नियमित तनाव परीक्षण (स्ट्रेस टेस्टिङ) गर्नुपर्नेछ।

मर्जर तथा प्राप्तिमा कर्मचारीको हकहित संरक्षण

नयाँ मार्गदर्शनले मर्जर वा प्राप्ति (अधिग्रहण) मा गएका संस्थाहरूमा कर्मचारीको हकहित र स्वेच्छिक अवकाश (भीआरएस) का सन्दर्भमा गैर-विभेदकारी नीति लिनुपर्ने स्पष्ट पारेको छ।

राष्ट्र बैंकको यो नयाँ कडाइका साथ लागू गरिएको मार्गदर्शनले बैंकहरूलाई जथाभावी ऋण विस्तार गर्न रोक लगाउँदै सर्वसाधारणको निक्षेप थप सुरक्षित बनाउने र समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।