लाभांश पारित गर्न शाइन रेसुङ्गा बैंकले साधारण सभा बोलायाे

-



     सफल आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ असाेज । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकको सञ्चालक समितिको निर्णय अनुसार असोज २८ गते, बुधबार रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के. प्रा.लि.मा सभा आयोजना गरिनेछ। उक्त साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुने बैंकले जनाएको छ।

लाभांश र प्रमुख प्रस्तावहरू

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका अलावा सभाले निम्न प्रस्तावहरू समेत पारित गर्नेछ:

  • बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
  • आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

बुकक्लोज र लाभांश योग्यता साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार असोज ११ गतेसम्म (असोज १३ गतेभन्दा अघि नेप्सेमा कारोबार भई कायम रहेका) शेयरधनीहरूले मात्र साधारण सभामा सहभागिता जनाउन र बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।