
मुस्ताङ, ७ असोज। मुस्ताङ भन्सार कार्यालयले २० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो ।
रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् । कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिनुभयो ।
केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । नेपाल–चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ ।
रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा रु ५३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी रु तीन अर्ब सात करोड ९३ लाख राजस्व सङ्कलन भएको छ ।
प्रमुख चुडालले पहिलो साउन महिनामा रु २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा सङ्कलन भएकोमा दोस्रो भदौ महिनामा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी–न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा रु १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो ।
यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए ।
मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२÷०८३ को बाह्र महिनामा रु छ अर्ब ९२ करोड राजस्व जम्मा गरेको थियो । त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




