चेम्बरद्वारा व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण

-



     सफल आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ असोज। नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण गरेको छ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहलाई भेट गरी उक्त मस्यौदा हस्तान्तरण गरेको हो।

वस्तु तथा सेवा बिक्री गरेपछि लामो समयसम्म रकम भुक्तानी नहुँदा उद्योगी-व्यवसायीको कार्यशील पूँजी (Working Capital) मा दबाब पर्ने, नगद प्रवाह (Cash Flow) प्रभावित हुने र कारोबार विस्तारमा समस्या आउने भएकाले यसलाई कानुनी दायरामा ल्याउन मस्यौदा तयार पारिएको अध्यक्ष अग्रवालले बताउनुभयो।

मस्यौदाका प्रमुख प्रस्तावित व्यवस्थाहरू:

  • बिल-बिजक नै करारको प्रमाण: वस्तु तथा सेवा बिक्री गर्दा जारी भएको बिल-बिजक, लिखित/विद्युतीय खरिद अनुरोध र विक्रेताको सहमतिलाई नै कारोबारको कानुनी प्रमाण मानिनेछ।
  • भुक्तानीको समयसीमा: बिलमा म्याद उल्लेख नभएको अवस्थामा वस्तु प्राप्त भएको ७ दिनभित्र रकम भुक्तानी गर्नुपर्नेछ। गुणस्तर परीक्षण र सामान फिर्ताका लागि पनि ७ दिनकै समयसीमा प्रस्ताव गरिएको छ।
  • व्यापारिक उधारो असुली समिति: उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा सङ्घ र प्रदेश तहमा ‘व्यापारिक उधारो कारोबार असुली समिति’ गठन गरिनेछ। उधारो रकम असुल नभएमा विक्रेताले यी समितिमा उजुरी दिन सक्नेछन्।
  • एक महिनाभित्र निर्णय: समितिले उजुरी परेको १ महिनाभित्र रकम असुलीको निर्णय गर्नुपर्नेछ। बक्यौता नतिर्ने क्रेताको आयकरमा खर्च समायोजन रोक्न, लाभांश रोक्का गर्न र प्रहरी-प्रशासनको सहयोग लिन सक्ने अधिकार समितिलाई दिइनेछ।
  • अदालत जानुअघि समिति अनिवार्य: विवाद समाधानका लागि पहिले असुली समितिमा जानुपर्नेछ। समितिले ३० दिनभित्र निर्णय नगरे वा निर्णयमा चित्त नबुझे मात्र जिल्ला अदालत जान पाइनेछ। अदालतमा संक्षिप्त कार्यविधिबाट ३० दिनभित्र मुद्दाको किनार लगाइनेछ र अदालत शुल्क लाग्ने छैन।
  • सम्पत्ति रोक्का र अन्तरिम आदेश: अदालत वा समितिले बक्यौता नतिर्ने क्रेताको बैंक खाता वा अचल सम्पत्ति रोक्का राख्न अन्तरिम आदेश जारी गर्न सक्नेछ।
  • भ्याट क्रेडिट र खराब ऋण (Bad Debts) समायोजन: असुल हुन नसकेको वा मिलापत्रमा छुट दिइएको रकममा लाग्ने भ्याट (VAT) लाई आगामी कर अवधिमा ‘कर क्रेडिट’ का रूपमा समायोजन गर्न पाइनेछ। साथै, असुल नभएको रकमलाई सोही वर्षको खराब ऋणका रूपमा करयोग्य आयबाट कट्टी गर्न सकिने व्यवस्था समेटिएको छ।

निजी क्षेत्रका व्यावहारिक समस्यालाई कानुनी रूपमा सम्बोधन गर्दा व्यापारिक वातावरणमा सुधार आउने र व्यवसायीहरू अनावश्यक अदालती झन्झटबाट मुक्त हुने चेम्बरको विश्वास छ।