राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गर्दै, आजै बोलकबोल

-



     सफल आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ असाेज । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट रु. २० अर्ब तरलता प्रशोचन (प्रवाह कम) गर्न १ महिने निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २०८३ असोज ८ गते बिहीबार एक सूचना जारी गर्दै ३२ दिने अवधि रहेको उक्त निक्षेप संकलनका लागि आवेदन आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज असोज ८ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत हुनेछ। निष्काशन मिति असोज ८ गते नै तय गरिएको छ भने साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक ९ गते गरिनेछ।

निक्षेप संकलनका मुख्य सर्त तथा विशेषताहरू:

  • सहभागी हुन पाउने संस्था: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्।
  • बोलकबोल रकम: बोलकर्ताले घटीमा रु. १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (रु. २० अर्ब) सम्म आवेदन दिन सक्नेछन्।
  • ब्याजदर निर्धारण: ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। बहुब्याजदरमा पनि बोलपत्र पेश गर्न सकिने व्यवस्था छ, जहाँ दशमलव पछिको चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ।
  • बाँडफाँड प्रक्रिया: सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी आह्वान रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर परेमा ‘प्रो-राटा बेसिस’ (अनुपातिक आधार) मा बाँडफाँड हुनेछ।
  • धितो र वैधानिक व्यवस्था: यो निक्षेप संकलन रकम नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने भए पनि कानुनी तरलता अनुपात (SLR) र ‘लिक्विडिटी रेसियो’ मा गणना गर्न पाइने राष्ट्र बैंकले जनाएको छ।
  • भुक्तानी अवधि: संकलित निक्षेप तोकिएको भुक्तानी मितिभन्दा अगाडि (Pre-mature) फिर्ता भुक्तानी हुने छैन।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट घटाइनेछ। निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभएका संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइने सूचनामा उल्लेख छ।