बाढीपहिरोले १ हजार २९२ मेगावाट जलविद्युत् प्रभावित, प्राधिकरणद्वारा मर्मत र आपूर्ति व्यवस्थापन तीव्र

-



     सफल आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित



काठमाडाैं, १२ असाेज । अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण संरचनामा व्यापक क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण कुल १ हजार २९२ मेगावाट क्षमताका विद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन्।

प्राधिकरणले क्षति पुगेका संरचनाको द्रुत मर्मतसम्भार गर्दै विद्युत् आपूर्तिलाई सन्तुलित र नियमित बनाउन प्राविधिक टोलीहरू परिचालन गरिसकेको छ।

प्रसारण लाइनमा क्षति हुँदा १९० मेगावाट प्रणालीबाट बाहिर

बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन क्षमता रहे पनि ७ वटा आयोजनाको १९०.४ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सकिएको छैन।

प्रभावित आयोजनाहरू:

  • मिस्त्री (४२ मेगावाट)
  • निलगिरि–१ (३८ मेगावाट)
  • निलगिरि–२ (२१ मेगावाट)
  • घारखोला (१४.८ मेगावाट)
  • थापाखोला (१३.६ मेगावाट)
  • रेलेखोला (६ मेगावाट)
  • घलेम्दी (५ मेगावाट)

सडक सञ्जाल अवरुद्ध भएकाले विस्तृत निरीक्षणमा कठिनाइ भए पनि मर्मतपछि चाँडै विद्युत् प्रवाह पुनः सुरु गरिने प्राधिकरणको भनाइ छ।

आयोजना तथा करिडोरको अद्यावधिक स्थिति

  • राहुघाट (४० मेगावाट): टेलरेस गेट र टर्बाइन फ्लोरमा पानी पसेकाले सफाइ गरी पुनः सञ्चालन गर्न करिब १० दिन लाग्नेछ। स्वीचयार्ड भने सामान्य अवस्थामा छ।
  • पुनः सञ्चालनमा आएका क्षेत्र: सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका केन्द्रहरू सञ्चालनमा आइसकेका छन्। १४४ मेगावाटको कालीगण्डकी ‘ए’ पनि सञ्चालनको अन्तिम तयारीमा छ।
  • विद्युत् वितरणको अवस्था: म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म र मनाङमा भोलिसम्म विद्युत् बहाल गर्ने लक्ष्य छ।

यसअघि भदौ १० को बाढीका कारण माथिल्लो त्रिशूली–३बी हबसहितका क्षेत्रमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भई ४३० मेगावाट विद्युत् अझै प्रणालीबाहिरै छ।

आगामी सुक्खायामको पूर्वतयारी

आगामी सुक्खायाममा सम्भावित विद्युत् संकट टार्न प्राधिकरणले आन्तरिक उत्पादन र भारतबाट आयातको एकीकृत योजना अघि सारेको छ:

स्रोतअनुमानित विद्युत् (मेगावाट)
आन्तरिक उत्पादन१,२१८
ढल्केबर–मुजफ्फरपुर (भारत)६००
बिहारका विभिन्न विन्दुहरू३५०
RTC (भारतीय बजार)१५०
टनकपुर–महेन्द्रनगर५४
कुल उपलब्ध हुने विद्युत्२,३७२ मेगावाट

गत वर्ष सुक्खायाममा पिक डिमान्ड २,२९२ मेगावाट रहेकोमा यो वर्ष २,३७२ मेगावाट विद्युत् व्यवस्थापन हुने अनुमान गरिएकाले माग र आपूर्ति सन्तुलनमा रहने प्राधिकरणले जनाएको छ।