सुनचाँदीका गहना बिक्रीमा ‘सीप प्रवर्द्धन शुल्क’ सम्बन्धी कार्यविधि २०८३ जारी

-



     सफल आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ असोज। नेपाल सरकारको आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई सरल, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।

आर्थिक ऐन, २०८३ को दफा १४ मा भएको व्यवस्था अनुसार विभागले शुल्क असुली, दाखिला, लेखाङ्कन, विवरण पेस तथा परीक्षणसम्बन्धी कार्यविधि तयार पारेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो।

कार्यविधिका प्रमुख व्यवस्थाहरू:

  • ०.५ प्रतिशत शुल्क असुली: नेपालभित्र अन्तिम उपभोक्तालाई सुन वा चाँदीका गरगहना तथा वस्तु बिक्री गर्दा बिक्री मूल्यमा ०.५ (शून्य दशमलव पाँच) प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ। यो शुल्क वस्तु बिक्री गर्दाकै समयमा असुल गर्नुपर्नेछ।
  • मासिक विवरण र राजस्व दाखिला: व्यवसायीले प्रोद्भावी (एक्रुअल) आधारमा लेखाङ्कन गरी प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा पेस गर्नुपर्नेछ। सङ्कलित शुल्क राजस्व शीर्षक नम्बर ११४१३ मा २५ गतेभित्रै दाखिला गरिसक्नुपर्ने व्यवस्था छ।
  • कालीगढ र ओसारपसार नियम: गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (PAN) लिएको हुनुपर्नेछ। पसल र कालीगढबीच सुनचाँदी ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको आधिकारिक चलान साथमा हुनुपर्नेछ।
  • पुरानो सुन साट्दाको नियम: पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानै तौल बराबरको नयाँ गरगहना दिँदा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन। तर, पुरानो तौलभन्दा थप गरिएको तौलको मूल्य तथा सम्पूर्ण ज्याला-जर्तीमा भने शुल्क लाग्नेछ।
  • ग्राहकले पेस गर्नुपर्ने प्रमाण: सर्वसाधारणले व्यवसायीलाई सुनचाँदी बिक्री गर्दा आफ्नो परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र, PAN आदि) र उक्त सुनचाँदी खरिद गरेको वा विदेशबाट ल्याएको आधिकारिक प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ।

जरिवाना, ब्याज र अतिरिक्त शुल्कको व्यवस्था:

  • तोकिएको समयभित्र विवरण पेस नगरेमा प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण रु १,००० मध्ये जुन बढी हुन्छ, सोही बराबरको थप शुल्क लाग्नेछ।
  • निर्धारित समयभित्र शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज असुल गरिनेछ।
  • कारोबार परीक्षण गर्दा शुल्क छली गरेको, बिक्री कारोबार खण्डीकरण गरेको वा वास्तविकभन्दा कम कारोबार देखाएको पाइएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क (जरिवाना) लगाइनेछ।

यसबाहेक, प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा तोकिएको ढाँचा अनुसारको सूचना पाटी अनिवार्य रूपमा राख्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।