
काठमाडौं, १४ असाेज। बिमा दाबीको क्षति मूल्यांकन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन नेपाल बिमा प्राधिकरणले सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित (अटोमेटेड) बनाउने भएको छ। सुशासनमा आधारित यस प्रणालीको असोज १२ गते साँझदेखि परीक्षण (टायल) सुरु भइसकेको छ।
हाल बिमा कम्पनीहरूले म्यानुअल रूपमा सर्भेयर छनोट गर्दा आफ्ना पहुँच वा रोजाइका सर्भेयरलाई मात्र बढी काम दिने, साना-ठूला विवाद हुने र अवसरको समान वितरण नहुने जस्ता गुनासो आउने गरेका थिए। नयाँ स्वचालित सफ्टवेयरले यस्ता समस्या अन्त्य गर्दै दाबी भुक्तानी प्रक्रियाको समय र लागत दुवै घटाउने विश्वास लिइएको छ।
नयाँ प्रणाली कसरी काम गर्छ ?
प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार प्रणालीमा ८८ संस्थागत र बाँकी व्यक्तिगत गरी कुल ६८० सर्भेयरको पूर्ण प्रोफाइल र विवरण प्रविष्ट भइसकेको छ।
कुनै बिमा दाबी दर्ता हुनासाथ सफ्टवेयरले तोकिएका मापदण्डका आधारमा उपयुक्त सर्भेयर आफैँ छनोट गर्नेछ। सर्भेयर छनोटका मुख्य आधारहरू यस प्रकार छन्:
- विज्ञता र वरिष्ठता: दाबी गरिएको क्षेत्र (जस्तै: सवारी साधन, घर, उद्योग आदि) मा सर्भेयरको विषयगत क्षमता।
- भौगोलिक पहुँच र उपलब्धता: दुर्घटना वा क्षति भएको स्थानमा सर्भेयरको उपस्थिति र तत्काल काम गर्न सक्ने क्षमता।
- कार्यबोझ (पोर्टफोलियो): सर्भेयरले हाल पाएको काम र सीमा। हाल व्यक्तिगत सर्भेयरले बढीमा ५ र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्थालाई प्रणालीले नै ट्रयाक गर्नेछ।
सुरक्षा परीक्षण र क्षमता अभिवृद्धि
नयाँ प्रणाली सञ्चालनका लागि प्राधिकरणले निर्जीवन बिमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइसकेको छ भने चाँडै सर्भेयरहरूलाई पनि तालिम दिइनेछ। भविष्यमा यस प्रणालीमा पुनर्बिमा कम्पनीहरूलाई समेत आबद्ध गराउने योजना छ।
सफ्टवेयरको सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्न फायरवाल तथा VAPT (भल्नरबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङ) जस्ता प्राविधिक सुरक्षा परीक्षणहरू भइरहेका छन्। परीक्षण कालमा प्रणालीको स्थिरता नजिकबाट अनुगमन गरिएपछि यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने प्राधिकरणले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




