सुनचाँदी आयात र बिक्री-वितरणबारे बैंक तथा व्यवसायी बीच अन्तर्क्रिया सम्पन्न

-



     सफल आवाज    
     असाेज १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ असाेज। नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदी आयात तथा बिक्री-वितरण सम्बन्धी कार्यविधिका क्रममा देखिएका व्यावहारिक कठिनाइ र समस्या समाधानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा बैंक-व्यवसायी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा महासंघको सचिवालय, बोगेनभिल्लामा असोज १३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

व्यावसायिक समस्या र बैंकहरूको स्पष्टीकरण

अन्तर्क्रियाका क्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिल प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था तथा बैंकमार्फत सुन खरिदको व्यवस्था अपेक्षाअनुसार प्रभावकारी नभएको गुनासो गरे। साथै, ग्राहकबाट अत्यधिक रूपमा गहना फिर्ता आउने गरेको, भन्सार दर र सुनको मूल्यमा हुने उतारचढावले बजार कारोबार तथा उपभोगमा परेको प्रभावबारे ध्यानकर्षण गराएका थिए।

जवाफमा बैंकका प्रतिनिधिहरूले सुन बिक्री-वितरणसम्बन्धी नियामकीय प्रक्रिया, मूल्य व्यवस्थापन, कागजात तथा अभिलेखीकरणबारे स्पष्ट पार्दै बैंक र व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

नियमनकारी निकाय र बैंकर्स संघको प्रतिबद्धता

कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका उपनिर्देशक यज्ञ श्रेष्ठले कार्यविधिको विद्यमान व्यवस्थाबारे जानकारी दिँदै कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि प्राप्त सुझावलाई निकायसमक्ष प्रस्तुत गर्ने बताए।

त्यसैगरी, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अन्तर्क्रियाबाट प्राप्त सुझावलाई सम्बन्धित निकायमा पुर्याउने र महासंघ, बैंक तथा नियामक निकायबीच सहकार्य बढाउने बताए।

भन्सार महसुल संशोधनको माग

महासंघका सल्लाहकार बद्रीप्रसाद कोइरालाले सुनचाँदी आयात तथा बिक्री-वितरण प्रणालीलाई समयअनुकूल संशोधन गरी सरल र व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए। अन्तर्क्रियाको निष्कर्षका रूपमा बजारको सुस्ततालाई सम्बोधन गर्न सुन र चाँदीमा लाग्दै आएको भन्सार महसुल तथा अन्य करका दरलाई छिमेकी राष्ट्रहरूको तुलनामा प्रतिस्पर्धी र न्यूनतम कायम गर्न सरकारसमक्ष पुनः पहल गर्ने निर्णय गरियो।

महासंघका सचिव केशवरत्न विश्वकर्माले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।