सुरक्षित प्रसूति सेवाको कानुन व्यवहारमा उतार्न जोड

-



     सफल आवाज    
     असाेज १५ गते २०८३ मा प्रकाशित



पोखरा, १५ असाेज । महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) ले पोखरामा आयोजना गरेको एक कार्यक्रममा नेपालमा सुरक्षित प्रसूति सेवा सम्बन्धी कानुनी व्यवस्थालाई व्यवहारमा पूर्ण रूपमा उतार्नुपर्नेमा जोड दिइएको छ।

‘नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाहरूले भोग्नुपरेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लङ्घन’ विषयमा सञ्चारकर्मीहरूसँग आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरूले संवैधानिक हक र कानुनी प्रावधान हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो भएको बताएका छन्।

कार्यक्रममा बोल्दै मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३८ (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको मौलिक हक दिएको स्मरण गराए। संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न बनेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ ले सबै सरकारी, सामुदायिक, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले सम्मानजनक प्रसूति सेवा प्रदान गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको उल्लेख गर्दै उनले कुनै पनि बहानामा प्रसूति सेवा दिन इन्कार गर्न नपाइने स्पष्ट पारे।

त्यस्तै, अधिवक्ता दिपेश श्रेष्ठले घरपरिवार, समाज र अस्पताल परिसरमै महिलाहरू विभिन्न किसिमका दुर्व्यवहार र हिंसाको शिकार हुनुपरेको र त्यसलाई सामान्यीकरण गर्ने परिपाटी बढेकोमा चिन्ता व्यक्त गरे। ऐन अनुसार गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी सूचना, कागजात र परामर्श गोप्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा यसको उल्लङ्घन भइरहेको उनले बताए।

३८.४ प्रतिशत गर्भवती महिला हिंसाको शिकार

महिला कानुन र विकास मञ्चले देशभरका १ हजार ६ सय ८० जना महिलामाझ गरेको अध्ययन अनुसार गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाहरूले भावनात्मक, शारीरिक र यौन हिंसा भोग्नु परेको तथ्य सार्वजनिक गरिएको छ।

अध्ययन अनुसार:

  • गर्भावस्था: ३८.४ प्रतिशत (करिब १० मा ४ जना) गर्भवती महिलाले हिंसा भोगेका छन्।
  • प्रसव समय: ३७.९ प्रतिशत महिला प्रसवका क्रममा हिंसाबाट प्रभावित छन्।
  • प्रसवोत्तर समय: ३५.९ प्रतिशत महिलाले सुत्केरी भइसकेपछिको समयमा हिंसा भोगेका छन्।

ऐन संशोधन विधेयक संसद्‌‌मा

अधिवक्ता श्रेष्ठका अनुसार सरकारले प्रजनन दुर्व्यवहारलाई समेत ‘हिंसा’को दायरामा समेटेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा संशोधन विधेयक संसद्‌मा दर्ता गरेको छ। प्रस्तावित विधेयकमा प्रसूति सेवा प्रदान गर्ने हरेक स्वास्थ्य संस्थाले अनिवार्य रूपमा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने र सेवा दिन इन्कार गरेमा दण्ड, कैद तथा जरिबानाको कडा सजाय प्रस्ताव गरिएको छ।

उक्त विधेयकलाई शीघ्र संसद्‌बाट पारित गराएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै मञ्चले संसदीय समितिहरूसँग छलफल अघि बढाइरहेको जानकारी दिइएको छ।

पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले सहजीकरण तथा समन्वय गरेको सो कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।