सिद्धार्थ बैंकको शेयरमूल्य ४१८ रुपैयाँ कायम

-



     सफल आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले असोज १६ गते, शुक्रबार बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजनपश्चात् बैंकको शेयरमूल्य प्रतिकित्ता ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार दोस्रो बजारमा बैंकको शेयर अन्तिम पटक प्रतिकित्ता ४५९ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो। यही समायोजित मूल्य (४१८.०९ रुपैयाँ) लाई आधार मानेर शुक्रबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुला हुनेछ।

लाभांश तथा अन्य प्रस्ताव पारित गर्न बैंकले असोज २८ गते, बुधबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुने उक्त सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरूलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र आगामी कार्यकालका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका विभिन्न प्रस्तावहरू पेश र पारित गरिनेछ।