माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवाका लागि एआईमा आधारित च्याटबोट ‘माया’ सार्वजनिक

-



     सफल आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असाेज। माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई बैंकिङ सेवासम्बन्धी जानकारी सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ।

बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अन्तरक्रियात्मक (इन्टरएक्टिभ) डिजिटल प्लेटफर्म ‘माया’मार्फत ग्राहकहरूले २४ सै घण्टा बैंकिङ सेवा तथा सुविधासँग सम्बन्धित आफ्ना जिज्ञासा, सुझाव तथा गुनासोहरू दर्ता र सम्बोधन गराउन सक्नेछन्।

यस प्रविधिको प्रयोगसँगै नियमित बैंकिङ जानकारी लिनका लागि बैंकको शाखा कार्यालयसम्म धाउनुपर्ने वा कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बाध्यता हट्ने बैंकले जनाएको छ। ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएको यस च्याटबोटले बैंकका विभिन्न उत्पादन तथा सेवाहरूबारे तत्काल जानकारी प्रदान गर्नेछ।

प्रविधिको अधिकतम प्रयोग गरी ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने प्रयासस्वरूप ‘माया’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। साथै, ग्राहकबाट प्राप्त हुने सुझाव र प्रयोगको अनुभवका आधारमा च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर परिमार्जन र सुधार गर्दै लैजाने बैंकको प्रतिबद्धता छ।

बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पनि एआईमा आधारित यस ‘माया’ च्याटबोटमार्फत ग्राहकहरूलाई चौबिसै घण्टा डिजिटल सहायता उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।