सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

-



     सफल आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित



धनगढी, १८ असाेज। सुदूरपश्चिम प्रदेशमा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन्।

बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्क अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ हजार ९७९ नागरिक बिमामा आबद्ध भएका छन्।

यस्तै कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ जना लाभग्राही रहेका छन्।

नेपालमा नागरिकलाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विसं २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो। संविधानको धारा ३५ र ५१ (ज) मा उल्लिखित स्वास्थ्यसम्बन्धी मौलिक हक तथा नीतिको कार्यान्वयनका रूपमा यो योजना विस्तार भइरहेको संयोजक साउदले बताउनुभयो।

स्वास्थ्य बिमामा के-कस्ता सुविधा छन्?

  • योगदान रकम: पाँच जनासम्मको परिवारका लागि वार्षिक रु तीन हजार ५०० योगदान शुल्क तोकिएको छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु सात सयका दरले थप शुल्क लाग्छ।
  • उपचार सुविधा रकम: पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाखसम्म र थप प्रतिसदस्य रु २० हजारका दरले अधिकतम रु दुई लाखसम्मको उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
  • निःशुल्क बिमाको व्यवस्था: ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपाङ्गता भएका व्यक्तिहरू तथा कुष्ठरोग, एचआइभी र एमडीआर-टिबीका बिरामीहरूका लागि सरकारले नै प्रिमियम तिरिदिने गरी निःशुल्क बिमाको व्यवस्था गरिएको छ।
  • संगठित क्षेत्र: सम्पूर्ण संगठित क्षेत्रका कर्मचारी तथा श्रमिकलाई आम्दानीको एक प्रतिशत योगदान गर्ने गरी बिमामा आबद्ध हुन अनिवार्य गरिएको छ।

स्वास्थ्य बिमामा आबद्ध नागरिकले तोकिएका सरकारी अस्पतालहरूबाट ओपिडी, इमर्जेन्सी, ल्याब परीक्षण तथा सामान्य शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरू प्राप्त गर्दै आएका छन्।