डलर सटही सुविधा, अग्रिम भुक्तानी र ऋणको दायरा बढ्यो

-



     सफल आवाज    
     असाेज १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ असाेज। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र-२०८२ मा व्यापक संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रदान गरिने विदेशी मुद्रा सटही सुविधा तथा अग्रिम भुक्तानीको सीमा बढाएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ अनुसार सोमबार परिपत्र जारी गर्दै संशोधित व्यवस्था लागू गरेको हो।

हवाई सेवा र सूचना प्रविधि क्षेत्रलाई ठूलो राहत

नयाँ व्यवस्था अनुसार नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन वा पार्टपूर्जा आयात गर्दा नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा अब बैंक तथा वित्तीय संस्थामार्फत सिधै ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्। यसअघि यो सीमा १ लाख अमेरिकी डलर मात्र थियो। साथै, हवाई जहाजका पार्टपूर्जा विदेश लगेर मर्मत गरी फर्काउने प्रयोजनका लागि पनि अग्रिम भुक्तानी सीमा १ लाख डलरबाट बढाएर ५ लाख डलर पुर्‍याइएको छ।

दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी कम्पनीसँग भूउपग्रह (स्याटेलाइट) सेवा भाडामा लिँदा वा प्रयोग गर्दा वार्षिक ५ लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंकहरूमार्फत सोझै गर्न सक्ने भएका छन्। यसअघि यस्तो भुक्तानीको सीमा वार्षिक १ लाख डलर रहेको थियो।

औषधोपचार र सेवा आयातको सीमा दोब्बर

विदेशस्थित अस्पतालमा उपचार गराउन र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न जाने नेपाली नागरिकका लागि प्रदान गरिने वार्षिक सटही सुविधा १५ हजार डलरबाट बढाएर ३० हजार अमेरिकी डलर पुर्‍याइएको छ।

यस्तै, विभिन्न नियमनकारी निकायको स्वीकृति वा सिफारिसमा बैंकहरूबाट प्रदान गरिने विविध सेवा शुल्कको सटही सुविधा प्रतिपटक १५ हजार डलरबाट बढाएर ३० हजार डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा कायम गरिएको छ।

विदेशी ऋणमा उर्जामूलक उद्योग थप, आयात भुक्तानीको सीमा वृद्धि

उत्पादनमूलक, सूचना प्रविधि, पूर्वाधार, पर्यटन र कृषि क्षेत्रका फर्म/कम्पनीहरूले विदेशी संस्थाबाट बैंक ग्यारेण्टी वा स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (SBLC) मार्फत विदेशी ऋण भित्र्याउन पाउने साबिकको व्यवस्थामा अब ‘उर्जामूलक उद्योग’ लाई पनि समावेश गरिएको छ।

त्यस्तै, निर्यातबापत प्राप्त रकमको आधारमा तेस्रो मुलुकबाट आयात गर्दा प्रदान गरिने भुक्तानी सुविधा १२ हजार डलरबाट बढाएर ३० हजार डलर र भारतको हकमा ३० लाख भारतीय रुपैयाँबाट बढाएर ६० लाख भारतीय रुपैयाँ पुर्‍याइएको छ।

कार्डमार्फत विदेशी मुद्रा आर्जन सीमा १० हजार डलर

सूचना प्रविधि तथा अन्य सेवा निर्यात गरी कार्डमार्फत विदेशी मुद्रा आर्जन गर्ने प्रयोगकर्ताहरूका लागि कार्डमा रहने मौज्दातको सीमा ५ हजार डलरबाट बढाएर १० हजार अमेरिकी डलर पुर्‍याइएको छ। वार्षिक रूपमा गरिने वस्तु तथा सेवा खरिद भुक्तानीको अधिकतम सीमा पनि बढाएर १० हजार डलर नै तोकिएको छ।

आयात तथा एजेन्सी मौज्दातमा नयाँ नियम

ड्राफ्ट वा टीटी (Draft/TT) मार्फत सामान आयात गर्दा सामान ढुवानी (Shipment) हुनुअघि कम्तीमा १० प्रतिशत रकम अग्रिम पठाएको हुनुपर्ने र भन्सारबाट सामान जाँचपास हुनुअघि पूर्ण भुक्तानी गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। बैंकहरूले यस्तो अग्रिम भुक्तानीको मासिक विवरण महिना सकिएको १५ दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ।

यसबाहेक अन्तर्राष्ट्रिय क्रेडिट रेटिङमा उच्च दर्जा (A-/A3 वा सोभन्दा माथि) पाएका मुलुकका सरकारी ऋणपत्रमा बैंकहरूले एजेन्सी मौज्दातको ५० प्रतिशतसम्म (अधिकतम ५ वर्षका लागि) लगानी गर्न सक्ने खुकुलो व्यवस्था समेत परिपत्रमार्फत गरिएको छ।