राष्ट्र बैंकले रु. ३० अर्ब बराबरको निक्षेप संकलन गर्दै

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ असाेज। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाबाट रु. ३० अर्ब बराबरको निक्षेप संकलन गर्नका लागि बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले २८ दिन (१ महिना) अवधिका लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो।

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल २०८३ असोज २१ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको Online Bidding System Software (OBSS) मार्फत हुनेछ।

निक्षेप संकलन उपकरणका प्रमुख विशेषताहरू:

  • आह्वान रकम: रु. ३० अर्ब (तीस अर्ब रुपैयाँ)
  • बोलकबोल तथा निष्काशन मिति: २०८३ असोज २१ गते
  • साँवा तथा ब्याज भुक्तानी मिति: २०८३ कात्तिक १८ गते
  • ब्याजदर: बोलकबोलको माध्यमबाट निर्धारण हुने (बहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने)
  • सहभागी हुन पाउने संस्थाहरू: राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र
  • बोल गर्न सकिने रकम: घटीमा रु. १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म
  • धितो व्यवस्था: नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने

अन्य व्यवस्था तथा सर्तहरू:

राष्ट्र बैंकका अनुसार न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर रकम बाँडफाँड गरिनेछ। निक्षेप संकलन गरिएको यो रकम सम्बन्धित बैंकको लगानी Portfolio हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन, तर वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाइनेछ।

साथै, स्वीकृत भएको बोलपत्र बापतको रकम भुक्तानीका लागि खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइने राष्ट्र बैंकले जनाएको छ। यो निक्षेप भुक्तानी मिति अगावै फिर्ता वा Pre-mature भुक्तानी हुने छैन।