बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा ठूलो क्षति

-



     सफल आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित



काठमाडौं, २५ असाे। बुढीगण्डकी नदीमा आएको भीषण बाढीले निर्माणधीन चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा मुख्य पुलहरू बगाउँदा निर्माण कार्य प्रभावित बनेको प्रारम्भिक विवरणले देखाएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना भएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र र त्यहाँ राखिएका केही निर्माण उपकरणहरू बाढीले बगाएको छ।

त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धन भइरहेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। बाढीले आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुर्‍याउनुका साथै आयोजनास्थल पुग्न प्रयोग गरिँदै आएको बेलिब्रिज नै बगाएको छ।

यसैगरी, यारु हाइड्रो पावर प्रालिको ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनामा निर्माण सामग्री, उपकरण तथा बेलिब्रिजमा क्षति पुगेको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र मुख्य पुल क्षतिग्रस्त भएको छ, जसका कारण आयोजनास्थलसम्मको यातायात तथा निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको छ।

आयोजनाहरूमा भौतिक संरचना र उपकरणका साथै पहुँच पूर्वाधारमा क्षति पुगेकाले निर्धारित निर्माण तालिका (प्रोजेक्ट सेड्युल) प्रभावित हुने निश्चित देखिएको छ।

प्रारम्भिक विवरणअनुसार कुल आर्थिक क्षति तथा संरचना पुनर्निर्माण गरी काम पुनः सुचारु गर्न लाग्ने समयबारे विस्तृत मूल्याङ्कन भइरहेको र पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ।