
पाँचथर, २६ असोज। पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ । पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको हो । ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।
तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ । मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार तीन चरणमा क्रमशः १६, १७ र अर्का पनि किलोमिटर रहेको छ । पहिलो प्याकेज उद्गम विन्दु चिवाभञ्ज्याङबाट सुरु हुन्छ । रु ५३ करोड १७ लाखमा रोशन–शिवशक्ति जेभीले ठेक्का लिएको यस प्याकेजको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ ।
यस प्याकेजमा चार पटक म्याद थप भइसकेको र अन्तिम पटक थपिएको म्यादअनुसार आगामी जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । तर उच्च पहाडी क्षेत्र भएका कारण यहाँ वर्षायाममा अत्यधिक वर्षा हुने तथा हिउँदमा चिसोले काम गर्न नसकिने भएकाले निर्माण कार्य निर्धारित अवधिमा पूरा हुनसक्ने अवस्था छैन । यद्यपि यहाँ पछिल्लो समय मुख्य निर्माण कम्पनीले नै सडक मर्मत सम्भारको कार्य गरिरहेको प्राविधिक देवले बताउनुभयो ।
करिब १७ किलोमिटर, दोस्रो प्याकेजको भने गत असार ११ गते ठेक्का सम्झौता तोडिएको छ । नयाँ ठेक्का लाग्ने निश्चित नहुँदा सडक अलपत्र अवस्थामा छ । सन्तोषी शिवशक्ति जेभीले रु ४६ करोड ४६ लाखमा ठेक्का लिएको यो प्याकेजको भौतिक प्रगति केवल १६ प्रतिशतमा सीमित भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमले ठेक्का तोडेको थियो ।
तीन पटक म्याद थप भएको यस प्याकेजमा गत वर्षको पुष मसान्तमा ठेक्का अवधि समाप्त भएको थियो । तर निर्माण कम्पनीले ठेक्का सम्झौता तोड्ने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत विराटनगर इलाम इजलासमा रिट दायर गरेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




