
काठमाडौं, २७ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा इन्टरनेट सेवा प्याकेज सञ्चालन गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक (ISP) हरूलाई कारबाही गरेको छ। प्राधिकरणको अनुमतिपत्रका सर्तहरू उल्लङ्घन गरेको पाइएपछि उनीहरूलाई प्रतिसेवा प्रदायक रु ५० हजारका दरले जरिवाना गरिएको हो।
प्राधिकरणका अनुसार निरीक्षण तथा जाँचबुझका क्रममा ती सेवा प्रदायकहरूले दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम कसुर गरेको पुष्टि भएको थियो। प्राधिकरणले आज जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ताको हितविपरीत काम गर्ने प्रदायकहरूमाथि कडा कदम चालिएको जनाइएको छ।
किन भयो कारबाही ?
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सेवा प्रदायकहरूले निम्नलिखित नियम उल्लङ्घन गरेका थिए:
- स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको।
- तोकिएकोभन्दा बढी शुल्क लिएको।
- प्राधिकरणबाट पूर्वस्वीकृति नलिई नयाँ वा फरक प्याकेज बनाएर बिक्री गरेको।
- सेवाग्राहीलाई प्याकेजहरूबारे तोकिएको समयमा पर्याप्त जानकारी नदिएको।
नियमअनुसार सेवा प्रदायकले शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम आफूले लागू गर्न चाहेको प्रस्तावित दर र लागू हुने मिति उल्लेख गरी कम्तीमा तीन महिनाअघि नै स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्छ। तर, यी १४ सेवा प्रदायकले उक्त कानुनी प्रावधानको पालना नगरेको पाइएको हो।
जरिवानामा परेका १४ सेवा प्रदायकहरू:
१. वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड
२. सुबिसु केबलनेट लिमिटेड
३. भायानेट कम्युनिकेसन्स लिमिटेड
४. क्लासिक टेक प्रालि
५. डिस मिडिया नेटवर्क लिमिटेड
६. सिजी कम्युनिकेसन लिमिटेड
७. वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि
८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड
९. पोखरा इन्टरनेट प्रालि
१०. वाइफाइ नेपाल प्रालि
११. ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि
१२. एरोनेट प्रालि
१३. फाइबरवल्र्ड कम्युनिकेसन प्रालि
१४. फस्र्ट लिङ्क कम्युनिकेसन प्रालि
क्षतिपूर्ति दिन र अनधिकृत प्याकेज बन्द गर्न निर्देशन
प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट प्याकेज तथा शुल्क दरहरू तत्काल बन्द गरी सोको जानकारी गराउन सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ। साथै, यस्ता गैरकानुनी गतिविधिका कारण कुनै ग्राहकलाई हानिनोक्सानी पुगेको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति वा बिगो भराइदिनसमेत सेवा प्रदायकहरूलाई कडा निर्देशन दिइएको छ।
यसअघि गत असोज २४ गते पनि प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने र अनधिकृत रूपमा सेवा सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी दिएको थियो।
प्राधिकरणले आफ्ना ग्राहकहरूसँग स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा तत्काल प्राधिकरणमा उजुरी दिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




