
काठमाडौं, २८ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ। लाभांश तथा वार्षिक साधारणसभाजस्ता सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने संवेदनशील सूचना समयमै उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३:३० बजे बसेको थियो। उक्त बैठकले वार्षिक साधारणसभा आह्वान, बुक क्लोज र लाभांश वितरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना वा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअगावै सूचीकृत संस्थाले नेप्सेमा पेस गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ।
तर, विन्ध्यावासिनी हाइड्रोपावरले असोज २६ गते गरेको निर्णयको जानकारी तोकिएको समयभित्र नदिई अर्को दिन अर्थात् असोज २७ गते बेलुका ५:५९ बजे मात्र नेप्सेको अनलाइन प्रणालीमार्फत गराएको पाइएको छ।
बजार बन्द भएपछि मात्र सूचना पठाएर विनियमावलीको ठाडो उल्लङ्घन भएको ठहर गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीको विनियम १६ (१) (ख) बमोजिम असोज २८ गतेको निर्णयअनुसार कम्पनीको सेयर कारोबार स्थगन गरेको हो। साथै, नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र समयमै जानकारी दिन नसक्नुको कारणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेका प्रमुख कार्यकारी अधिकृतको सचिवालयलाई समेत दिइएको छ।
पूँजी बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) रोक्न तथा साधारण लगानीकर्तालाई सूचनाको समान पहुँच सुनिश्चित गर्न मूल्य संवेदनशील सूचना तत्काल सार्वजनिक गर्नुपर्ने नियमलाई कडाइका साथ लागु गरिँदै आएको छ। कम्पनीले सन्तोषजनक स्पष्टीकरण पेस नगरेसम्म यसको सेयर कारोबार फुकुवा नहुने नेप्सेले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




