नेप्से २६२५ विन्दुमा, कारोबार रकम पौने ५ अर्ब नजिक

-



     सफल आवाज    
     असाेज २९ गते २०८३ मा प्रकाशित



काठमाण्डौं, २९ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार पनि सुधार दर्ता भएको छ। पछिल्लो पाँच कारोबार दिनदेखि लगातार बढिरहेको सेयर बजारले साताको अन्तिम कारोबार दिन पनि सोही लयलाई निरन्तरता दिएको छ।

यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर बन्द भएको छ। ठूला र बलिया कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.०१ अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले सकारात्मक रहेका छन्।

कारोबार रकममा उत्साहजनक वृद्धि

नेप्से परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार कारोबार रकम बढेर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँ पुगेको छ।

आज ३४९ वटा कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता सेयर ३८ हजार ८६१ पटकको कारोबारमार्फत खरिदबिक्री भएका हुन्।

बेनी हाइड्रोपावरको सकारात्मक सर्किट

दोस्रो बजारमा आजैदेखि सेयर कारोबारमा आएको बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य ४० रुपैयाँ ९० पैसा (१० प्रतिशत) ले बढेर अन्तिम कारोबार ३१३ रुपैयाँ ९० पैसामा भएको छ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशतका दरले बढेका छन्। बिहीबार बजारमा घट्ने कम्पनीहरूको सेयरमूल्यको गिरावटदर ३ प्रतिशतभन्दा कममै सीमित रह्यो।

कुमारी बैंकको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो। कुमारी बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र घलेम्दी हाइड्रोको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको परिसूचक उकालो लागेको छ भने ४ वटा उपसमूहमा गिरावट आएको छ।

सबैभन्दा बढी फाइनान्स (वित्त) उपसमूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ। अर्कोतर्फ बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन्।