
काठमाडौं, ३ कार्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को पर्खाइमा रहेका कम्पनीहरूको संख्या १०४ पुगेको छ।
बोर्डको अद्यावधिक तथ्यांकअनुसार पाइपलाइनमा रहेका सम्पूर्ण कम्पनीहरूले गरी कुल ४७ करोड २८ लाख कित्ता सेयर निष्कासनको प्रक्रिया अघि बढाएका हुन्।
कुल निष्कासन गर्न लागिएको सेयरमध्ये २५ प्रतिशतभन्दा बढी हिस्सा अर्थात् करिब साढे ११ करोड कित्ता सेयर ५ वटा ठूला कम्पनीको मात्रै रहेको छ।
पाइपलाइनमा रहेका शीर्ष ५ ठूला कम्पनीहरूमध्ये ३ वटा उत्पादनमूलक क्षेत्रका छन् भने जलविद्युत् र सेवा क्षेत्रका १–१ वटा कम्पनी रहेका छन्। उत्पादनमूलक क्षेत्रका शुभश्री अग्नि सिमेन्ट, जगदम्बा स्टिल र महाशक्ति सिमेन्टको मात्रै करिब ६ करोड कित्ता सेयर निष्कासनको तयारी छ।
यी हुन् सेयर निष्कासनको पर्खाइमा रहेका ५ शीर्ष कम्पनीहरू:
- सिउरी न्यादी हाइड्रोपावर: कित्ता संख्याका आधारमा यो सबैभन्दा ठूलो कम्पनी बनेको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३ लाख कित्ता (रु. ३ अर्ब ३ करोड बराबर) सेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ।
- शुभश्री अग्नि सिमेन्ट: दोस्रो ठूलो कम्पनीका रूपमा रहेको यस सिमेन्ट उद्योगले १०० रुपैयाँ अंकित मूल्यका २ करोड २ लाख कित्ता (रु. २ अर्ब २ करोड बराबर) सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।
- जगदम्बा स्टिल: उत्पादनमूलक क्षेत्रको यस ठूलो कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने आवेदन दिएको छ। कम्पनीले प्रतिसेयर ३३० रुपैयाँका दरले २ करोड २ लाख कित्ता अर्थात् कुल रु. ६ अर्ब ६२ करोड बराबरको सेयर निष्कासन अनुमति मागेको छ।
- महाशक्ति सिमेन्ट: यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख कित्ता (रु. १ अर्ब ७८ करोड बराबर) सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ।
- डिस मिडिया नेटवर्क: सेवा क्षेत्रअन्तर्गतको डिस मिडिया नेटवर्कले १०० रुपैयाँ अंकित मूल्यका १ करोड १७ लाख कित्ता (रु. १ अर्ब १७ करोड बराबर) सेयर निष्कासनको स्वीकृति पर्खिरहेको छ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपश्चात् यी कम्पनीहरूले सर्वसाधारण तथा प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




