कार्यकाल १७ महिना बाँकी छँदै हटाइएका आईजीपी कार्कीद्वारा कानुनी परामर्श सुरु

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ कार्तिक । कार्यावधि १७ महिना बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न परामर्श थाल्नुभएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेसँगै उहाँले कानुन व्यवसायीहरूसँग छलफल सुरु गर्नुभएको हो।

सरकारले कार्कीको स्थानमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयले केसीलाई बुधबारै दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको सूचना पाउनासाथ केही उथलपुथल हुने संकेत पाइएको थियो। निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफैँ केही कानुन व्यवसायीहरूसँग सम्पर्क गरी सम्भावित कानुनी विकल्पबारे छलफल गर्नुभएको छ।

साे परामर्शमा सहभागी अधिवक्ताहरूले सरकारको यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिन सुझाव दिएका छन्। अधिवक्ता स्वागत नेपालले पनि कार्कीलाई फोन गरी अदालत जान सल्लाह दिएको पुष्टि गर्नुभएको छ।

२०५३ सालको ‘खरेल-प्रधान प्रकरण’ को पुनरावृत्ति

बहालवाला आईजीपीलाई अवधि बाँकी छँदै सरुवा गरिएको यो घटनाले २०५३ सालको बहुचर्चित प्रकरणलाई स्मरण गराएको छ।

यसअघि विक्रम संवत् २०५३ मा तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएका थिए। सरकारको उक्त निर्णयविरुद्ध खरेल सर्वोच्च अदालत पुगेका थिए, यद्यपि मुद्दा लामो समयसम्म अदालतमा निर्णयविहीन बनेको थियो।

पछि वामदेव गौतम गृहमन्त्री रहेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढली कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि सर्वोच्चको फैसला र राजनीतिक परिवर्तनसँगै खरेल पुनः आईजीपीमा पुनर्बहाली भएका थिए। गौतमले आईजीपी बनाएका ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्रीको सल्लाहकारमा सरुवा गरिएको थियो।

हाल कार्कीलाई पनि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएकाले उहाँ अदालत पुगेमा पुन: अदालतको फैसला कस्तो आउला भन्ने विषयलाई चासोका साथ हेरिएको छ।