सरकारले ‘भय र भ्रमको शासन’ बन्द गरोस्, सबै घटनाको निष्पक्ष छानबिन होस्: नेपाली कांग्रेस

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले सरकार निरङ्कुश र स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न माग गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी वक्तव्यमा पार्टीको वैधानिकता र नेतृत्वविरुद्ध रचिएका आधारहीन आरोप, कृत्रिम भाष्य (Manufactured Narrative) र षड्यन्त्रहरूलाई पूर्ण रूपमा खारेज गरिएको छ।

वक्तव्यमा उठाइएका मुख्य विषयहरू :

१. पार्टीको वैधानिकता र १५औँ महाधिवेशन

नेपाली कांग्रेसका अनुसार २०८२ पौषमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भई सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको छ। सोही बमोजिम संविधान, कानून र पार्टी विधान अनुसार २०८३ असोज १६–२३ मा १५औँ महाधिवेशन सम्पन्न भइसकेको हुँदा पार्टीको वैधानिकतामाथि प्रश्न उठाउनु आम सदस्य र शुभेच्छुकहरूको मानमर्दन गर्ने सुनियोजित प्रयास भएको कांग्रेसको ठहर छ।

२. ‘इनम सापकोटा प्रकरण’ र राज्य संयन्त्रको दुरुपयोग

‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीहरूको नाम जोडेर राज्यका निकायहरू दुरुपयोग भइरहेको तथ्य सार्वजनिक भएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नतामा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने र प्रहरी महानिरीक्षक (IGP) हटाउनेसम्मका कार्यहरू हुनुले राज्यका निकायहरू शासकको स्वार्थका लागि ‘शस्त्रीकरण’ भएको पुष्टि हुने कांग्रेसको आरोप छ।

३. निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग

नेपाली कांग्रेस आफूमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न तयार रहेको स्पष्ट पार्दै, इनम सापकोटा प्रकरणलगायत सम्पूर्ण घटनाहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गर्दछ।

४. कानुनी र राजनीतिक रूपमा सामना गर्ने रणनीति

पार्टीलाई बदनाम गर्ने बदनियतका साथ भएका षड्यन्त्रविरुद्ध लड्न नेपाली कांग्रेसले दुई वटा समिति गठन गरी जिम्मेवारी तोकेको छ:

  • कानुनी परामर्श: उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अगाडि बढाइनेछ।
  • संसदीय पहलकदमी: संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसदमा आवश्यक राजनीतिक पहलकदमी लिइनेछ।

५. सरकारलाई जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह

विपत्‌बाट प्रभावित जनताको राहत तथा पुनर्मूल्यांकन, थप्प बनेको अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटजस्ता विषय छाडेर सरकार प्रतिपक्षलाई दबाउने र प्रेस एवं नागरिक स्वतन्त्रता खोस्ने काममा लागेको कांग्रेसले जनाएको छ। अफवाह र षड्यन्त्र छाडेर जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन सरकारलाई आग्रह गर्दै, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन कांग्रेसले सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेको छ।